‘छोरीलाई मोबाइल दिँदा यो हालत भयो’

कात्तिक १७, नेपालगन्ज– मोबाइल फोनबाट सम्पर्क बनाएर जाजरकोटकी १५ वर्षीया किशोरीलाई भारत लैजान खोज्ने एक युवक पक्राउ परेका छन्। डोल्पाका ३८ वर्षीय सिद्ध बोहराले ती किशोरीलाई ललाइफकाई भारत लान खोजेका थिए। पक्राउ परेका उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। किशोरीलाई केआई नेपाल नामक गैरसरकारी संस्थाले उद्धार गरी संरक्षणमा राखेको छ।
खच्चड ढुवानीमा संलग्न गाउँकै दाइ नातापर्ने युवकले बोहरालाई किशोरीको मोबाइल नम्बर दिएका थिए। त्यसपछि वैशाखयता बोहोरा र ती किशोरीको नियमित कुराकानी हुन थाल्यो। कक्षा ७ मा पढ्दै गरेकी ती किशोरीले सुरुमा अपरिचित व्यक्तिसँग मोबाइलमा कुरा गर्न इन्कार गरिन्। तर बोहराले नियमितजसो फोन गरेर फकाउन थालेपछि उनको विश्वासमा पर्दै गइन्।
‘फोनमा उसले तिमीलाई धेरै नै माया गर्छु, बिहे गरेर तिमीसँगै जीवन जिउन चाहन्छु भन्ने शब्द बारम्बार दोहोर्‍याउँथ्यो,’ किशोरीले आइतबार नागरिकसँग भनिन्। बोहराले बारम्बार भेट्ने बोलाए पनि सुरुमा वास्ता नगरेकी किशोरी कात्तिक १२ गते भने नकार्न सकिनन्। पहिलोपटक चौरजहारी बजारमा प्रत्यक्ष भेट भएपछि किशोरीलाई उनले नेपालगन्जसम्म हिँड्न कर गरे। किशोरीलाई मोबाइल फोन अफ गर्न लगाए।
‘मन नलागे पनि उसको ढिपीले नेपालगन्ज पुग्न राजी भएँ,’ पीडित किशोरीले भनिन्, ‘बाटोमा उसले गरेका क्रियाकलापबाट मलाई डर लागिरहेको थियो। तर अर्काको ठाउँमा कसैलाई सुनाउने अवस्था थिएन।’ बोहराले सुरुमा नेपालगन्जमा पनि आफ्नो घर भएको र मासिक ३५ हजार भाडा उठ्ने बताएर फकाएका थिए। किशोरीको बयानअनुसार बोहराले नेपालगन्जस्थित दैलेखी होटलमा दुई दिन र राँझामा रहेको मनकामना होटलमा एक दिन राखेर जबर्जस्ती यौन सम्पर्क राखेका थिए। ‘मिन्स भएको अवस्थामा ममाथि जबर्जस्ती गर्‍यो,’ उनले भनिन्।
होटलमा रुन, कराउन थालेपछि कपडा किनिदिएर फकाएको उनले बताएकी छिन्। शनिबार भने किशोरीलाई ललाइफकाई बोहराले भारतमा आफ्नो घर भएको भन्दै सीमा कटाउन खोजे। सीमा प्रवेश गराउँदै गर्दा शनिबार बिहान ८ बजे जमुनाहा नाकामा उनीहरू समातिए। सीमा प्रवेश गराउँदा उनले काका, भतिजीको साइनो लगाएर उम्किने प्रयास गरेपछि चेकजाँचमा खटिएका उद्धारकर्मीले लामो समयको केरकारपछि वास्तविकता पत्ता लगाएका थिए।
‘सीमा क्षेत्रमा निगरानी नबढाएको भए किशोरीलाई दलालले सजिलै भारत पुर्‍याउँथ्यो,’ केआई नेपाल नेपालगन्जकी प्रमुख राधिका गिरीले भनिन्, ‘घटनामा संलग्न व्यक्ति पक्राउ परिसकेकाले उसलाई कानुनी कारबाही गर्न सजिलो भयो।’
उद्धारपछि पीडित किशोरीले नेपालगन्ज आएका बुबाको रोहबरमा पीडकविरुद्ध जिप्रकामा आइतबार जाहेरी दर्ता गरिन्। ‘छोरीलाई मोबाइल फोन प्रयोग गर्न दिँदा यो हालत भयो,’ आइतबार जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा भेटिएका किशोरीका बुबाले भने ‘दोषीलाई कडा कारबाही हुनुपर्छ।’
जिप्रका बाँकेका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले अभियुक्तविरुद्ध अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीले अभियुक्तविरुद्ध अदालतमा म्याद थप गरेर कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ। गैरसरकारी संस्थाको संरक्षणमा रहेकी किशोरीको सोमबार स्वास्थ्य परीक्षण गरिनेछ।काठमाडौँ  नागरिक दैनिकले खबर छापेको  छ ।