राप्रपा नेपालमा दाहालको सम्झना

कात्तिक १६, काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी प्रचार विभागका सदस्यसचिव वासुदेव दाहालको निधनले राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति पुगेको बताएका छन्। दाहालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा अध्यक्ष थापाले निष्ठा र त्यागको राजनीतिमा दिवंगत दाहाल पर्याय जस्तै रहेको स्मरण गराए। अध्यक्ष थापाले दाहालकै पहलमा आफूले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, नेत्रविक्रम चन्द, देव गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे लगायत राजनीतिज्ञ तथा विभिन्न पेसा/व्यवसायमा आबद्ध व्यक्तिसँग राष्ट्रवादी आन्दोलन सञ्चालन गर्ने विषयमा छलफल गराएको खुलासासमेत गरेका थिए।
पत्रकारिता र राजनीतिलाई सँगसँगै अगाडि बढाएका दाहालको गत कात्तिक १ गते राजधानीको तीनकुनेमा सवारी दुर्घटनामा परी निधन भएको थियो।
सोलुखुम्बुको पञ्चन गाविसमा जन्मिएका ३७ वर्षीय दाहाल २०५४ सालदेखि पत्रकारितामा थिए। उनी २०६२/६३ को जनआन्दोलनपछि राप्रपा नेपालमा लागेका थिए। दिवंगत दाहालका पत्नी र ७ महिनाका नाबालक छोरा छन्।
श्रद्धाञ्जली सभामा पार्टीका सहअध्यक्ष केशरबहादुर विष्ट, वामपन्थी विश्लेषक भरत दाहाल, शिवराम ढकाललगायतले राष्ट्रवादी आन्दोलनका लागि दाहालको अभाव रहिरहने धारणा राखेका थिए।
सोही कार्यक्रममा दिवंगत दाहालकी धर्मपत्नी सुनिता तिवारी दाहालले राप्रपा नेपालको पार्टी सदस्यता लिएकी थिइन्। उनलाई पार्टी अध्यक्ष थापाले सदस्यता दिएका हुन्। नागरिक दैनिकमा खबर छ   ।