सामन्ती सोच

प्रभा बराल | २०७१ कार्तिक १४ शुक्रबार 3358 पटक पढिएको

 1563 1

घरमा रंगरोगन हुँदै थियो। श्रीमान्जी कार्यालयको कामले केही दिनका लागि बाहिरिनुप:यो। रंग लगाइसकेका ठेकेदारलाई श्रीमान्जीले भनेअनुसार रकम दिएँ, तर उसले मलाई ठग्ने मनसाय राखेर रकम थप गरिदिने कुरा गर्‍यो, तर मैले उसलाई यसबारेमा थप कुरा श्रीमान्जी आएपछि गर्नू अहिले यति लिनू भनिदिएँ।
ठीकै छ आइमाईसँग के कुरा गर्ने भनेर उसले पैसा लियो। उसले बोलेको आइमाई शब्दले मेरो मनमा हजार भोल्टभन्दा बढीको विद्युतीय झट्का हानेको अनुभूति भयो। यसअघिसम्म आदर गरेर आफ्नै हातले बनाएको चिया खाने दाजुजस्तो ठेकदार सामन्तजस्तो लाग्यो। महिलाप्रति हेर्ने उसको पुरातनवादी सोच हो भन्ने ठम्याउन मलाई कत्तिबेर पनि लागेन।
यसैगरी म बस्ने टोलमा बेलाबेलामा टोल सुधारका मिटिङहरू भइरहन्थ्यो। श्रीमान्जीभन्दा बढी फुर्सद भएकोले मिटिङमा म नै उपस्थित भइरहन्थें। मिटिङमा प्राय: पुरुष नै हुन्थे र उनीहरू महिलाको उपस्थितिलाई त्यति आवश्यक र सहज ठान्दैनथे। यसैबीच टोलसुधार समितिको नयाँ कार्य समिति गठन हुने भयो।
सबैले समितिको कोषाध्यक्ष भाउजूलाई बनाउनुपर्छ है भन्दै मलाई प्रस्ताव गरे। ‘जो बन्दा पनि हुन्छ, मलाई राख्नुपर्छ भने सदस्यमा राख्नुस् भन्दा उनीहरूले भने, ‘भाउजू बसेपछि कोष हिनामिना हुन पाउँदैन।’ मलाई अचम्म लाग्यो, एउटी महिलालाई महत्त्वपूर्ण पदमा आसीन गराउन खोज्नुको कारण स्वार्थ रहेछ, काम गर्ने अवसर दिन त कहाँ रहेछ र? अन्तत: कोषाध्यक्ष पद स्वीकार गरेँ।
जुन समाजमा महिलालाई उच्च सम्मान र प्राथमिकता दिइन्छ र महिलाको अस्तित्वलाई गम्भीरतापूर्वक लिइन्छ, त्यो समाजमा उन्नति र प्रगति देख्न सकिन्छ। पुरुषले कमाउने र महिलालाई भण्डारको जिम्मा दिने गरेका घरको व्यस्थापन मजबुत हुन्छ।
महिलाले जिम्मेवारी पाएको अधिकांश काम सफल भएको हामी देख्‍न सक्छौं। आज जापान, चीन, रूसजस्ता देशमा पुरुषले कमाएको कमाइ लगेर थपक्क महिलाको हातमा थमाइदिन्छन्। त्यो पैसा महिलाले राख्ने र परिचालन गर्नाले पनि देशको मुहार फेरिन धेरै सहयोग पुगेको थाहा पाउन सकिन्छ। तर हाम्रो समाजमा महिलाप्रति विश्वासको भावना अत्यन्त कम छ। उनीहरूलाई आर्थिक उपार्जनका लागि घरबाट बाहिर निस्कन अत्यन्त गाह्रो छ। केही महिला मात्र यस कार्यमा सफल भएका छन्।
समाजमा पहिचानको लागि दौडिँदा पोथी बासेको भन्‍ने खालका अशिष्ट भनाइ सुन्नुपर्दा यस्ता मनोवैज्ञानिक हिंसाले मन दुखाउँछ। संसार कहाँ पुगिसक्यो तर हामी अझै पुरानै मान्यताबाट बाहिरिन सकेका छैनौं। हाम्रो समाजमा यो अवस्था देखिनुमा सामाजिक र सांस्कृतिक पक्ष नै हो। बरु राजनीतिक तहबाट छिटो परिवर्तन देखिएको छ।
यस्तै कार्यालयबाट कार्यालयीय कामकै लागि जाँदा महिला पुरुषसँग कुरा गर्दा तपाइँ जानुस् भन्‍ने अपमानजनक शब्द सुन्‍नु पर्दा हामीलाई रुढिवादी युगमा बाँचिरहेका छौं जस्तो लाग्छ। छापामा प्रकाशित हुने लेखरचनामा महिलालाई मनोरन्जनको पात्र बनाउने, दोस्रो दर्जाको नागरिकको रूपमा चित्रण गर्ने, मोटी, पातली, डल्ली, सेक्सी भन्दै उनीहरूको अस्मितामाथि असर पार्ने कुरा हुन्छ।
समाजलाई सन्तुलित ढंगले अगाडि बढाउन महिलालाई, महिलाका कामलाई हलुका ढंगले लिने पुरातनवादी सामन्ती सोच अन्त्यका लागि महिला वर्ग अगाडि आउनैपर्छ। 
यसबारेमा महिला अधिकारकर्मीले विरोध गर्दै आइरहेका छन्, तर त्यो बालुवामा पानीसरह भएको छ। तसर्थ समाजलाई सन्तुलित ढंगले अगाडि बढाउन महिला र उनीहरूका कामलाई हलुका ढंगले लिने पुरातनवादी सामन्ती सोच अन्त्यका लागि महिला वर्ग अगाडि आउनैपर्छ। अर्को कुरा, पुरुष वर्गबाट प्रकट हुने सामन्ती सोचप्रति आपत्ति प्रकट गर्ने र महलिाले पनि अगाडि आउनैपर्छ।

– See more at: http://annapurnapost.com/News.aspx/story/1613#sthash.IIfK2bYU.dpuf