पर्यटन बोर्डका सिइओ निरौलालाई निलम्बन गर्न लेखा समितीको निर्देशन

कात्तिक ५, काठमाडौँ -व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई निलम्बन गर्न निर्देशन दिएको छ।  समितीले निर्देशक निरौलाले करोडौँ रकम अनियमितता गर्नमा प्रत्यक्ष संलग्न देखिएको भन्दै कात्तिक ९ गते देखि लागु हुने गरि निलम्वन गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । समितीको बैठकले सार्वजनिक खरिद कानुनको पालना नगरी खरिद गर्ने, प्रमाण र औचित्य बिना खरिद गर्ने, असम्बन्धित व्यक्तिलाई गैरकानुनी भुक्तानी दिने लगायतका गैरजिम्वेवार काम गरेको ठहर गरेको छ । निरौलाले लेखाका विवरणहरु सही र यथार्थ नराख्ने लगायतका क्रियकलाप गरी आर्थिक कारोबारमा स्वच्छता, पारदर्शिता, मितव्ययिता, जवाफदेहिता, औचित्यता र आर्थिक अनुशासन जस्ता तत्वहरुको बेवास्ता गर्दै बोर्डको करोडौँ रकम अनियमित गर्ने कार्यमा निरौला प्रत्यक्ष संलग्न देखिएकोले पदीय जिम्मेवारबाट तत्काल निलम्बन गरेको समिती सभापती जर्नादन शर्माले बताए । समितीको बुधबारको बैठकले अनियमितता बारे छानबिन गर्न गठित समिति र महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेखित बेरुजुलाई समेत आधार लिएर अनुसन्धान गरी आवश्यक कारबाही गर्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ। बैठकले पर्यटन बोर्डको आर्थिक अनियमितताबारे छ बुँदे निर्देशन पनि दिएको छ।