आजदेखि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै

कात्तिक २, काठमाडौँ-आजदेखि मुलुकभर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत सबै जिल्लाका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै  छ । जन्मेका छ महिनादेखि पाँचवर्षसम्मका करिब ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एकवर्षदेखि पाँचवर्षसम्मका २९ लाख २१ हजार बालबालिकालाई जुकाको औषधि कात्तिक २ र ३ गते खुवाउने कार्यक्रम रहेको बालस्वास्थ्य महाशाखाले जनाएको  छ । महाशाखाका अनुसार  कात्तिक २ गते बिहानदेखि साँझसम्म सबै जिल्ला, नगरपालिका तथा गाउँ विकास समितिअन्तर्गतका प्रत्येक वडाका तोकिएका केन्द्रमा स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने व्यवस्था मिलाइएको छ । यसका लागि करिब ५३ हजार महिला स्वयंसेविका परिचालन हुनेछन् । कात्तिक २ गते औषधि खान छुटेका बालबालिकालाई ३ गते खुवाइने छ ।     नेपालमा भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएपछि बर्सेनि करिब १२ हजार बालबालिकालाई अकालमा हुने मृत्युबाट जोगिएका छन् ।