इबोला प्रभावित अमेरिकी नर्सलाई विशेष हेरचाह |

काठमाडौं, आश्विन ३१ । इबोला भाइरसबाट प्रभावित अमेरिकी नर्स निना फामलाई उपचारको लागि विशेष विमानमार्फत् मेरिल्यान्ड पु¥याइएको छ । अमेरिकाको टेक्ससस्थित अस्पतालमा उपचाररत फामलाई विशेष उपचार र हेरचाहको लागि विशेष विमानमार्फत् मेरिल्यान्ड पुर्‍याइएको हो ।

टेक्ससकै अस्पतालमा इबोलाबाट मृत्यु भएका थोमस एरिक डंकनको उपचारमा संलग्न नर्सहरु निना फाम र अम्बर भिन्सनमा इबोला भाइरसको संक्रमण देखिएपछि अमेरिकामा उच्च सतर्कता अपनाइएको छ ।

यी दुई नर्सहरुलाई छुट्टै राखेर विशेष निगरानीको साथ उपचार गरिँदैछ भने उनीहरुसँग एउटै विमानमा यात्रा गर्ने झन्डै डेढ सय यात्रुहरुको खोजी र स्वास्थ्य परीक्षण भइरहेको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले इबोलाविरुद्ध लड्नका लागि तत्काल आर्थिक सहायता जुटाउन अपिल गरेका छन् । इबोलाबाट लड्न भइरहेका प्रयासहरु अत्यन्तै फितलो भएको भन्दै बानले गत सेप्टेम्बरमा आफूले घोषणा गरेको एक अरब अमेरिकी डलर सहयोग समेत अझै प्राप्त हुन नसकेको बताए ।

तत्काल आपतकालीन कोषको व्यवस्था गरी इबोलाविरुद्धको विश्वव्यापी अभियानलाई सार्थक बनाउन बानले अपिल गरेका हुन् । (एजेन्सी)