नेदरल्यान्ड्समाथि आइसल्यान्डको जित

असोज २९, काठमाडौ-स्वान्सीका मिडफिल्डर जाइल्फी सिगर्डसनको दुई गोलमा सोमबार आइसल्यान्डले युरोपियन च्याम्पियनसिप छनोटअन्तर्गत महारथी नेदरल्यान्ड्समाथि २–० को सनसनीपूर्ण विजय पाएको छ।
ब्राजिलमा तीन महिनाअघि सम्पन्न विश्वकपलगत्तै डच टोलीको जिम्मेवारी लिएका गुस हिडिंकको नेतृत्वमा नेदरल्यान्ड्सले भोगेको यो ४ खेलमा तेस्रो हार हो। आइसल्यान्डका लागि भने यो नेदरल्यान्ड्सविरुद्ध पाएको पहिलो ऐतिहासिक जित थियो। यसअघि दुई टोलीबीच भएका ११ भेटमा आइसल्यान्डले कहिल्यै जित पाउन सकेको थिएन।
लगातार तेस्रो जित पाएको आइसल्यान्ड छनोटको समूह ‘ए’ मा चेक गणतन्त्रसँगै संयुक्त शीर्ष स्थानमा छ। चेक गणतन्त्रले पनि लगातार तेस्रो जित पाउँदा अल्माटीमा सोमबार काजकस्तानमाथि ४–२ को नतिजा निकालेको थियो। लाट्भियासँग १–१ को बराबरी खेल्दै अंकको खाता खोलेको टर्की भने काजकस्तानसँगै पुछारमा कायम छ।
आइसल्यान्डलाई ऐतिहासिक जित दिलाउन सिगर्डसनले पहिलो हाफमै दुवै गोल गरिसकेका थिए। १०औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका सिगर्डसनले मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा दोस्रो गोल गरे। स्टेफन डी भि्रजले बिरकिर बिजार्नसनलाई लडाएवापत रेफ्रीले आइसल्यान्डलाई पेनाल्टीको अवसर दिए। दोस्रो गोलका लागि उनले कर्नरबाट आएको बल विपक्षी रक्षापंक्तिले क्लियर गर्न नसक्दा कडा भली प्रहार गरे।