संविधान निर्माण प्रक्रिया जटिल मोडमा–अध्यक्ष दाहाल

काठमाडौँ, २८ असोज-एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अघिल्लो संविधानसभामा भएका सहमतिबाट काँग्रस एमाले पछि हटेका कारण सहमति कायम गर्न समस्या भएको बताएका छन् । माघ ८ गते संविधान जारी गर्नका लागि सरकारमा रहेका दलहरू नै प्रतिबद्ध भएर लाग्नुपर्नेमा प्रतिपक्ष क्रियाशील हुने स्थिति आएको उल्लेख गर्दै प्रचण्डले विगतको सहमतिमा नै कायम रहने हो भने पनि एक दुई दिनभित्रमा सहमति हुन सक्ने बताएका छन् । अध्यक्ष दाहालले आज आफ्नै निवास लाजिम्पाटमा सञ्चारकर्मीहरूसँग समसामयिक राजनीतिक विषय, संविधान निर्माण, उच्चस्तरीय राजनीतिक समिति, प्रतिपक्षी मोर्चाले गरिरहेको आन्दोलनका बारेमा कुराकानी गर्दै  संविधान निर्माणमा नेपाली काँग्रेस लचकताका साथ प्रस्तुत भए पनि नेकपा ९एमाले० पछि हटेको आरोप लगाए । संविधान निर्माणको प्रमुख विवादित विषयमा रहेको शासकीय स्वरूप, राज्य पुनःसंरचना, निर्वाचन प्रणाली र न्याय प्रणालीको विषयमा छलफल भए पनि हालसम्म कुनै पनि सहमति नभएको उनको भनाइ थियो । आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषयमा अडान राखेको भए पनि सहमतिका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा विगतमा भएको सहमतिअनुसार मिश्रित प्रणालीमा पनि सहमति गर्न सक्ने उल्लेख गरे । राज्य पुनःसंरचनाको विषयमा १० प्रदेशको आफ्नो पार्टीको अडान रहेको उल्लेख गर्दै उहाँले काँग्रेस र एमाले सात प्रदेशको अडानबाट माथि नउठे फेरि पनि संविधान नबन्ने आशङ्का व्यक्त गरे ।