गंगामायाको स्वास्थ्य अवस्था नाजुक

असोज २८,काठमाडौ-छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै लामाे समयदेखि वीर अस्पतालमा आमरण अनसनमा बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था दिन दिनै नाजुक बन्दै गएको छ । सँगै अनसनमा रहेका श्रीमान नन्दप्रसादको गत असोज ६ गते मृत्यु भएको थियो । त्यसपछि सरकार र मानब अधिकारकर्मीहरुका तर्फबाट निरन्तर प्रयास गर्दा पनि गंगामायाको अनसन तोडाउन सकिएको छैन ।

अधिकारी दम्पत्तीका १७ वर्षे छोरालाई ०६१ सालमा तत्कालिन माओबादीले अपहरण गरी हत्या गरेको आरोप छ । त्यसपछि उनीहरु न्यायका लागि निरन्तर लडेका हुन् । ०७० कार्तिकको ७ गतेदेखि निरन्तर अनसनमा बसेका यी दम्पत्ती मध्ये नन्दप्रसादको ३ सय ३३ दिनमा मृत्यु भएको थियो । गंगामाया भने हालसम्म वीर अस्पतालकै बेडमा अनसन बसिरहेकी छिन् ।

अस्पतालका निर्देशक स्वयम प्रकाश पण्डित गंगामायाले मुखबाट खान नमान्दा  दिनहुँ उनको स्वास्थ्य कमजोर र शरीर शिथिल हुँदै गएको बताउँछन् ।

‘शरीरमा स्लाइन र टिपिएन दिने ठाउँसम्म छैन । शरीर सबै सुकेर नसा भेटिदैन,’ उनले भने, ‘अहिले तिघ्राको साप्रामा प्वाल पारेर ‘फिमोरल भेन’ राखेर टिपिएन (सम्पूर्ण खाद्य पदार्थको झोल) दिइरहेका छौं । लामो समयदेखि एकै ठाउँमा फिमोरल भेन राख्दा संक्रमण हुने खतरा हुन्छ । चार हप्तादेखि तिग्राको साप्रामा राखेको भेन अन्त कतै नसा नभेटिएर सार्न सकिएको छैन । यसैका कारण अहिले उनलाई ज्वरो आइरहेको छ ।’

निर्देशक पण्डितका अनुसार जीवन रक्षाका लागि गंगामायालाई क्याल्सियम, पोटासियम, स्लाइन, टिपिएन दिइएको छ । यसले समयलाई लम्ब्याउने मात्रै हो ।

पहिले देखि नै त्यति नबोल्ने उनी अहिले पनि केही बोल्दिनन् । अस्पतालमा उनलाई भेट्न कोही आफन्तहरु नआएको निर्देशक पण्डितले जानकारी दिए ।  मानब अधिकारकर्मी र सरकारका प्रतिनिधिहरु भने निरन्तर आएर केही खुवाउने प्रयास गरिरहेका छन् ।

वीर अस्पतालको आइसीयू कक्षको १६ नम्बर बेडमा लडिरहेकी आमाले छोरो भेट गर्ने इच्छा राख्दा समेत उनका जेठा छोरा नुरप्रसाद नआएको मानबअधिकारकर्मी सुदिप पाठकले जानकारी दिए । ‘दशैमा गंगामाया एक्लै भएका बेला म निरन्तर गएँ,’ उनले भने, ‘छोरालाई बोलाइदेउ भनिरहेकाले सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । उनका नजिकका एक व्यक्ति मार्फत खबर पठाउँदा पनि आएनन् ।’

पाठकका अनुसार बाबु बित्दा र त्यसपछि शब बुझ्न पनि नुरप्रसाद आएनन् । ‘हामीले गंगामायालाई बाँचेर न्यायका लागि लड्नुपर्छ भनेर प्रोत्साहन गरिरहेका छौं । यसै बारेमा सरकारसंग पाँच वटा बुँदा माग गरेका छौं । सरकारले यी पाँच बुँदामा सहमती र प्रतिवद्धता गरे गंगामायाले अनसन तोड्ने मलाई विश्वास छ,’ पाठकले भने ।

उनका अनुसार अपराधीलाई कारवाही गर्ने, गंगामाया र नुरप्रसादको सुरक्षाको प्रत्याभुती गर्ने, गंगामायाको स्वास्थ्य उपचार, ८/१० वर्षमा उनीहरुको परिवारमा भएको क्षतिपूर्ति दिने, भविश्यमा कुनै पनि प्रकारको संकट नपर्ने ग्यारेन्टी गर्न सके गंगामायाले अनसन तोडेर श्रीमानको शब बुझ्ने थिइन् ।

अधिकारी दम्पत्तीको स्वास्थ्य उपचारका लागि सरकारले खर्च बेहोर्ने भनेपनि हालसम्म १२ लाख ६४ हजार मात्र अस्पताललाई उपलब्ध गराएको छ । गत असार मसान्त सम्म उनीहरुको उपचारमा २५ लाख ५७ हजार खर्च अस्पतालका निर्देशक पण्डितले जानकारी दिए । कान्तिपुरमा खबर छ ।

‘त्यसपछि पनि ७ लाख खर्च भइसकेको छ । एउटै टिपिएन को ७ हजार ५ सय सम्म पर्छ । दिन बिराएर गंगामायालाई लगाइरहेका छौं’ उनले भने ।