प्रम-गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिबिच भेटवार्ता

असोज २८,  काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालासँग गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेको नेतृत्वमा आएको टोलीबिच भेटवार्ता भएको  छ । भेटमा गैरआवासीय नेपाली सङ्घको अवस्था, गैरआवासीय नेपालीले नेपालमा गरेको लगानी, नेपालमा सुध्रिँदै गरेका लगानीयोग्य वातावरण, नेपालको संविधान निर्माण प्रक्रिया, खुला विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए । सङ्घका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री कोइरालाले संविधानसभाको निर्वाचन भएर आफ्नो नेतृत्वमा सरकार गठन भएपछि यसले शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकासलाई मूलमन्त्र बनाएर काम गरिरहेको बताए । उनले मुलुकमा शान्ति र राजनीतिक स्थायित्व कायम भएको र निर्धारित समयमा संविधान आउने सुनिश्चित भएकाले लगानीको वातावरण बनिरहेको पनि उल्लेख गरेका छन् ।