पदक जित्ने बिमलालाई सेनामा जागिर

असोज २८,काठमाडौं-सत्रौ एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रका लागि एकमात्र कास्यपदक जित्ने कराते खेलाडी बिमला तामाङलाई त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएकी छन्, आजको अन्नपूर्णमा खबर छापिएको छ। बालाजु कराँते डो एकेडेमीबाट खेल्दै आएकी बिमलाले आगामी दिनमा आर्मी क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने गरी सोमबार सम्झौता भएको छ।

सम्झौता पत्रमा आर्मी क्लबका तर्फबाट प्रमुख सेनानी प्रकाशजंग कार्की र एकेडेमीका तर्फबाट प्रशिक्षक ध्रुबविक्रम मल्लले हस्ताक्षर गरे। सम्झौताअनुसार बिमलाले नियमित अभ्यास बालाजु एकेडेमीबाटै गर्नेछिन्। आर्मी क्लबले उनलाई आगामी कात्तिक महिनादेखि लागू हुने गरी मासिक १० हजार रूपैयाँ प्रदान गर्नेछ। करारमा नियुक्त भएकी उनले आर्मी क्लबबाट प्रतियोगिता मात्र खेल्नेछिन्।