प्रधानमन्त्री कोइराला स्वदेश फिर्ता

काठमाडौ, आश्विन १६ – प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन् । स्वास्थ्य जाँच  र महासभामा सहभागी हुन असोज-३ गते कोेइराला न्युयोर्क गएका थिए । कोइराला अपरान्ह ४ बजे  आइपुगेका हुन् ।

विमानस्थलमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालालो प्रमुख दलहरुको सहमतिमा माघ–८ मै संविधान जारी हुने बताए । उनले संविधान जारी भए लगत्तै मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने र १० वर्षमा मुलुकको कायापलट हुने विश्वास व्यक्त गरे । उनले आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठीक भएको भन्दै अब संविधान निर्माणमा ध्यान केन्द्रित हुने बताए ।

कोइरालालाई सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्रीद्वय बामदेव गौतम, प्रकाशमान सिंह सहित अन्य मन्त्रीहरु एवं सरकारका उच्च पदस्थ अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

कोइरालाले असोज-१० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा कोइरालाले राष्ट्रसंघका महासचिव वान कि मुन, अमेरिकी राष्ट्रपति बाराक ओबामा,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सार्क राष्ट्रका अन्य सरकार  प्रमुखहरुसँग पनि भेटेका थिए । कान्तिपुर दैनिकमा खबर  छ ।