मासुका पारखीहरू : कृष्ण भट्टराई

 

त्यसै पनि दसैंलाई खानपिन एवं घुमघामको पर्वका रूपमा मनाइने चलन छ । एक वर्षसम्म भेट नभएका परिवारका सदस्यहरू दसैंकै अवसरमा एउटै थलोमा भेला हुने भएकाले पनि यो अवसरमा खानपिनको विशेष महत्व हुन्छ । त्यस्तो जमघटको खानपिनमा मासुको उपस्थिति अनिवार्य मानिन्छ । दसैंमा प्राय: खसीकै मासु खाइए पनि पछिल्ला केही वर्षयता स्वास्थ-चेतनाका कारण खसीको मासु खाने क्रम घट्दो छ । अचेल दसैंमा समेत माछा तथा कुखुराको मासुको खपत बढ्दो छ । दसैंको अवसरमा अघि-पछिभन्दा बढी मासु खाइनु स्वाभाविक पनि हो ।

गायक प्रमोद खरेल मासुका पारखी हुन् । विगतमा खसीको मासु भनेपछि हुरुक्क हुने प्रमोदलाई दसैंको बेला घरमा खसी काट्दा सबैभन्दा पहिले खसीका दुईवटै कान छुट्याउनु पर्ने चलन केही वर्षअघिसम्म थियो । ‘खसीको कान पोलेर खाने म एक्लै हुन्थें, किशोरावस्थाका दिनहरू सम्झँदै प्रमोद भन्छन्— ‘अहिले पनि कतै खसी काटेको देखें भने कान पोलेर खान पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ ।’ प्रमोद खसीको मासुका कतिसम्म पारखी छन् भने अहिले पनि उनी खसी काटेको ठाउँमा पुगे भने करिब २ सय ग्राम काँचो बोसो केही क्षणमै चपाइसक्छन् । ‘खसी काट्ने बित्तिकैको आलो बोसो चपाउन साह्रै मज्जा लाग्छ, प्रमोदकाअनुसार केही वर्षयता उनले त्यस्तो मौका भने पाएका छैनन् । दसैं विशेष सांगीतिक कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले घरमा खसी काटिने दिन पनि उनी कन्सर्टमै हुन्छन्, त्यसैले अचेल उनले खसीको कान र काँचो बोसो चाख्न नपाएका हुन् । विगत केही वर्षयता उनी स्वास्थप्रति सजग हुँदै खसीको मासुका परिकारबाट टाढै बस्न थालेका छन् । अचेल उनी कुखुराको ग्रेमी मन पराउँछन् । ‘पाँग्रा फ्राइ मलाई सबैभन्दा मनपर्ने परिकार हो, प्रमोद भन्छन्—’हल्का ग्रेभीमा पांग्रा मिसाइएको छ भने मलाई अरू केही चाहिँदैन ।’

मासु नायिका केकी अधिकारीलाई पनि मन पर्ने परिकार हो । उनलाई खसीको मासुका परिकार मनपर्छ तर धेरै मसलायुक्त मासु भने खान सक्दिनन् । दसैं भन्ने बित्तिकै मासुको कुरा आउने भएकाले पनि यो अवसरमा उनी सामान्यभन्दा बढी नै मासु खान्छिन् । दसैंमा दिनहुँ मासुका परिकार खाँदा-खाँदा वाक्क भए पनि केकी दसैंको बेला पकाइने खसीको मासुका विभिन्न परिकार भनेपछि हुरुक्क हुन्छिन् ।

मिस्टर नेपालमा सहभागी हुँदै सानो पर्दा अनि चलचित्र नायकसमेत भैसकेका विकास चापागाईं मासु भनेपछि हुरुक्क हुने कलाकार हुन् । करिब पाँच वर्षअघिसम्म उनी हरेक दसैंमा आफ्नो घरमा ल्याएको खसी आफैंले मार हान्थे । पछिल्लो पटक आफूले मार हानेको खसी आधा मात्र छिनिएपछि उनले उक्त कामबाट संन्यास लिए । ‘मामाले खसी मार हान्न सिकाउनु भएको थियो, विकास सम्झन्छन्— ‘सुरु-सुरुमा रहरै-रहरले मार हानें तर अहिले सम्झँदा पछुतो लाग्छ ।’ खसी मार हान्न छाडे पनि विकास खसी काटिसकेपछि मासु भाग लगाउने काममा पनि सिपालु छन् । घरमा खसी काटेपछि काटकुट गर्ने जिम्मा विकासले नै पाउँछन् । ‘मलाई खसीको पोलेको मासु असाध्यै मनपर्छ, अहिले पनि म एउटै बसाइमा दुई किलो जति पोलेको मासु खान सक्छु, मासुका पारखी विकास भन्छन्— ‘सेकुवा र कवाब मलाई मनपर्ने थप दुई परिकार हुन् । खसीको कलेजो पनि मेरो रोजाइमा पर्छ ।’ कलेजो फ्राइ खाँदा असाध्यै स्वादिष्ट हुने उनको अनुभव छ ।

कुनै बेला गायक यम बराल पनि मासु भने पछि हुरुक्क हुन्थे । एकताका खसीको मासुका अम्मली भएका यी गायक अचेल खसीको भन्दा कुखुराको मासुमा बढी जोड दिन्छन् । सानो छँदा यमलाई खसीको पोलेको मासु जति भए पनि पुग्दैनथ्यो । यमलाई दसैंको सप्तमी-अष्टमी कहिले आउला र घरमा खसी ढालिएला भन्ने कुराको सधैं प्रतिक्षा हुन्थ्यो । खसी काटेको अवस्था भने उनलाई विगतमा पनि मन पर्दैनथ्यो, अहिले पनि उनी खसी मार हानेको हेर्न सक्दैनन् । ‘अचेल म खसीको मासु खान्न, यम भन्छन्- उनी अचेल कुखुराका मासु भनेपछि हुरुक्क हुन्छन् । स-सानो जमघटदेखि दसैंको ठूलै सेलिब्रेसनमा समेत उनी चिकेन फ्राइलाई पहिलो प्राथमिकतामा राख्छन् ।

चलचित्र निर्देशनमा डेब्यु गरेकै वर्ष सर्वाधिक ६ वटा चलचित्र निर्देशन गरेर कीर्तिमान कायम गर्ने निर्देशक शिव घिमिरे पनि मासुका पारखीमध्ये एक हुन् । ‘मलाई सधैं खसीको मासु नै मनपर्छ, साप्ताहिकसँगको पछिल्लो भेटमा शिवले भने— ‘सानैदेखि नै दसैंको बेला घरमा खसी काट्नै पर्ने वातावरणमा हुर्किएँ, अहिले पनि मलाई घरमा खसी नकाटी दसैं नै आएको होइन कि जस्तो लाग्छ ।’ शिवका अनुसार फूलपातीको दिन नै उनी खसी काटेर सफा गर्नेदेखि टुक्राउने कामसमेत आफैं गर्छन् । खसी काटिसकेपछि उनी सबैभन्दा पहिले कान पोलेर खान र अरूलाई पनि ख्वाउन रुचाउँछन् । शिव खसीको पोलेको मासु र सेकुवा सबैभन्दा बढी खान्छन् । मदिरापान र तासबाट टाढै रहने शिव दसैंको बेला खसी काटेपछि मासु नसकिने दिनसम्म घरबाट खासै टाढा जाँदैनन् । दसैंबाहेक अन्य अवसरमा पनि उनी खसीको मासुका विभिन्न परिकार खान मन पराउँछन् । चलचित्रको छायांकनस्थलमा खाना खाने क्रममा उनलाई अनिवार्य रूपमा मासु चाहिन्छ । युनिटका अन्य सहकर्मीले कुखुराको मासु खाए पनि शिव भने खसीकै मासु मगाएर खाने बताउँछन् ।

हास्य कलाकार आरपी भट्टराई पनि मासुका पारखी हुन् । हास्य श्रृंखला ‘तीतो-सत्य’ मा लादालाम उपनामले चर्चित यी कलाकार आफ्नो मोटो ज्यानका कारण नै चर्चामा आएका हुन् । उनको ज्यान मोटाउनुमा मासुको ठूलो भूमिका छ भन्ने कुरा धेरैलाई थाहा छैन । कुनै बेलामा खसीको मासु बिना खाना नै नखाने आरपी अचेल कुखुराको मासुमा पल्किएका छन् । ‘ज्यान मोटो भएपछि चिकित्सककै सल्लाहअनुसार खसीको मासु खान छाडेको हुँ, आरपी केही वर्षअघिसम्म खसीको सेकुवा भनेपछि हुरुक्क हुन्थे । काठमाडौंका प्राय: सबै सेकुवा कर्नरमा पाक्ने सेकुवाको स्वाद उनलाई अहिले पनि कन्ठस्त छ । ‘अहिले त दसैंमा पनि म सकेसम्म कुखुराकै मासुलाई प्राथमिकता दिन्छु, आरपी भन्छन्- दसैंमा प्राय: सबै घरमा खसीको मासु पाक्ने भएकाले स्वादका लागि भए पनि उनी दुई-चार टुक्रा खसीको मासु खान्छन् ।

नायक गोविन्द शाही पनि मासुका पारखी हुन् । ‘मासु असाध्यै मनपर्छ, गोविन्द भन्छन्- मासुको कुरा गर्ने बित्तिकै खान मन लाग्छ । पहिले-पहिले खसीको मासु खुबै खाइयो, कुखुराको मासुको त बासना नै मन पर्दैनथ्यो, तर पछिल्ला केही वर्षयता खसीको मासु चटक्क छाड्न बाध्य भएको छु । युरिक एसिड बढेपछि अहिले कुखुराको मासुमै चित्त बुझाउनु परेको छ ।’ गोविन्दलाई कुखुराको फ्राइ मनपर्छ, तन्दुरी चिकेन पनि उनको रोजाइको परिकार हो । शिव भक्त गोविन्द साताको एक दिन सोमबार मात्र मासु खाँदैनन्, बाँकी सबै दिन उनलाई खाना तथा खाजामा मासु नै चाहिन्छ ।