विदेशको दसैं : नरेन्द्र रौले

 

रोमानियामा रमाइलो

रोमानियामा नेपालीहरूको संख्या निकै कम छ । यसपालिको दसैंमा रोमानियामा भएका सबै नेपाली एक ठाउँमा भेला भएर टीका तथा जमरा लगाउने कार्यक्रम बनाएका छौं । जमरा राख्ने जिम्मा मेरो भागमा परेको छ । म एकदमै उत्साहित छु । अघिल्लो वर्षको दसैं मैले विदेशमा मनाएको पहिलो दसैं थियो । नेपालीहरूसँग भेटघाट भएर नेपाली परिकारको स्वादमा रमाउन थालेपछि बाँकी कुरा बिर्सिएकी थिए ।

गत वर्ष रोमानियामा रहेका सबै नेपालीले एक-आपसमा दसैंको शुभकामना आदान-प्रदान गर्‍यौं । टीका लगाउने कार्यक्रम नभएकाले अघिल्लो दसैं खल्लो नै रह्यो । विदेशमा रहँदा आफ्नो परिवार, साथीभाइ तथा नेपाली खाना खुब मिस गरिन्छ । नेपालमा हुँदा पोखराको आफ्नै घरमा दसैं मनाएका पलहरूको सम्झना आउँछ । नेपालमै पनि सहर बजारमा भन्दा गाउँमा चाडबाडको छुट्टै रमाइलो हुन्छ । नयाँ लुगा अनि निधारभरि टीका लगाएर पिङ खेल्न जाँदाको क्षण मान्यजनको हातबाट टीका लगाउँदा पाइने आशीर्वाद झल्झली सम्झना आउँछ ।

नवरात्रका बेला घर र मन्दिर वरिपरि बालिने बास्नादार धूपको सुगन्धित वातावरणले मनै अर्कै हुन्छ । आमाले बनाउनु भएका परिकारहरू सम्झिँदा त अहिले पनि घर जाऊँ-जाऊँजस्तो लाग्छ । विदेशमा बसेका बेला चाडबाड पनि नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।

– शर्मिला मित्राकोटी, रोमानिया

युद्धविरामपछि इजरायलको दसैं

हामीले आफ्नो चाडपर्व एवं संस्कृति जहाँ गए पनि बिर्सनु हुँदैन । यही नै हाम्रो पहिचान हो । इजरायलमा भर्खरै युद्धको भयावह स्थिति रोकिएको छ । यहाँ दसैंमा विभिन्न कार्यक्रम गरिन्छन् । हामीले तिनै कार्यक्रममा सहभागी भएर दसैँ मनाउने गरेका छौं ।

बिदा मिल्ने साथीहरू नयाँ-नयाँ ठाउँ घुम्न जान्छौं । लामो बिदा नमिल्ने साथीहरू भने आ-आफ्नो पायक पर्ने ठाउँमा जम्मा हुन्छन्, घरबाट खानेकुरा बनाएर ल्याउँछन् वा बिदा लिएर अपार्टमेन्टमा जम्मा हुन्छन् अनि ठूलाले सानालाई टीका लगाइ दिन्छन् । घरमा जुठो परेकाले मैले यसपालिको दसैंमा टीका लगाउनु हुँदैन । साथीहरूले टीकाको पर्सिपल्ट जमघट राखेका छन् । टीकाको दिन भने बहाई गार्डेन घुम्न जाने विचार छ । अघिल्लो दसैं एनआरएन इजरायलको अगुवाइमा द्वन्द्वपीडित बालबालिकाहरूका लागि सांस्कृतिक कार्यकम गरेर मनाएका थियौं । दसैँको टीका लगाउन राजदूतावास गएका थियौं ।

विदेशमा हुँदा सबैभन्दा धेरै त आफ्नो देश, आफन्त अनि साथीभाइहरूकै सम्झना आउँछ । आमा-बाबाको आशीर्वाद लिन नपाउँदा खल्लो लाग्छ । आमाले पकाएका मीठा-मीठा परिकार अझ धेरै याद आउँछ । नेपालमा मनाएका दसंैको रौनक नै अर्कै हुन्थ्यो । सानोमा दसैंमा बाबाले ल्याइदिने नयाँ कपडा, टीका थाप्दै घरघर हिँडेका दिनहरू, विवाहपछि काठमाडौंबाट चितवन माइती पुग्दा आमाले अँगालो हालेर बाहिरसम्म लिन आएको, महादेव थानको लिंगे पिङमा भाउजूसँग दोहोरी पिङ खेलेको, साथीहरूसँग चलचित्र हलमा रमाइलो गरेका पलहरू झल्झली याद आउँछ ।

विदेशमा चाड आउँदा अत्यन्तै नरमाइलो लाग्छ । आफन्त एवं परिवारको सम्झनाले परेली रुझरिहेका हुन्छन् । अझ इजरायलमा त युद्ध भैरहने देशमा त बाँचेर आफ्ना आफन्तहरूसँग चाड मनाउन पाइन्छ पाइदैन भन्ने त्रास छ । यस पटक ५० दिन लामो इजरायल-हमास युद्धका बेला पनि सुरक्षति रहेर काम गर्न पाएकोमा नेपालीहरूमा केही खुसी थपिएको छ ।

– भगवती बस्नेत, इजरायल

आठ वर्षदेखि जापानमै दसैं

जापानको दसैं हरेक वर्ष भव्य हुन्छ । यसपालि पनि साथीभाइसँगै रमाइलो गर्ने विचारमा छु । मेरो परिवार पनि यतै छ । मेरा दुई जना भाइ, बुहारीहरू पनि यतै भएकाले त्यति धेरै एक्लोपन महसुस हँुदैन । तै पनि मेरो जन्मस्थान काभ्रेको सल्लेभुम्लु एकदमै मिस हुन्छ । म जापान बसेको आठ वर्ष भयो । पलपल नेपालका चाडपर्वको सम्झना हुन्छ । नेपालमा छँदाको रमाइलो त बयान गरेर साध्य छैन । हामी घरबाट दुई घण्टा हिंडेर पुगिने भीमसेनथान मन्दिर पुग्थ्यौं । बोका, राँगा, कुखुराको बलि चढाइन्थ्यो । दसैंमा रोटे पिङ, लिङ्गे पिङ खेलेको धेरै मिस गर्छु । हाम्रो गाउँमा दुई ठाउँमा पिङ थियो, हामी मच्चि-मच्चि खेल्थ्यौं । गाउघरका सबैजना मिलेर कोदाको रक्सी पिएको धेरै सम्झन्छु ।

जापानमा अघिल्लो दसैंमा सांगीतिक कार्यक्रम आयोजित गरिएको थियो । नेपालबाट आएका कलाकारहरूले सांगीतिक वातावरण तताएका थिए । नाचगानमा रमाइलो गर्दा स्वदेश नै पुगेजस्तो लागेको थियो । यसपालि घरमै साथीभाइ बोलाउने, जापानी परिकारहरूको स्वाद लिने अनि नपुगेका, नदेखेका जापानका केही ठाउँ घुम्ने योजना बनाएका छौं ।

– हरिचन्द्र लामा, जापान, टोकियो

घुमघाम गरेर दसैं

हङकङमा बसे पनि म हरेक दसैंमा घुम्न मन पराउँछु । अघिल्लो पटक जापान घुमेर दसैं मनाइयो । यसपालि मकाउ जाँदैछु । पोहोर जस्तै रमाइलो हुने आशा गरेको छु । दसैं भन्नेबित्तिकै मनमा खुसी एवं उमंग छाइहाल्छ । किनभने यो नेपालीहरूको महान् चाड हो । जसरी हुन्छ, हामी सक्दो खुसी हुने, रमाइलो गर्ने प्रयास गर्छौं ।

स्वदेशको जस्तो रमाइलो त परदेश बस्दा नहुँदो रहेछ । आफन्त, साथीभाइहरूसँग भेट्न पाइँदैन । नेपाली परिकारहरूको स्वाद चाख्न पाइँदैन । धेरै कुरा छुटेजस्तो लाग्छ । फेरि विदेशमा समय व्यवस्थापन गर्न निकै गार्‍हो हुन्छ । त्यति धेरै लामो बिदा हुँदैन । जति बिदा उपलब्ध हुन्छ, रमाइलो गरेरै बित्छ । मलाई नयाँ ठाउँ पुगेर त्यहाँको चिनो ल्याउन मन लाग्छ । किनमेलमा एकदम सोख छ । मेरी काकी पनि यतै हुनुहुन्छ । उहाँको हातको टीका लगाउने र नजिकका साथीभाइहरूलाई अपार्टमेन्टमा बोलाएर यसपालिको दसैं मनाउने विचार गरेको छु ।

– सञ्जय लिम्बू, हङकङ

अस्टे्रलियाको दसैं

अस्टे्रलियामा अघिल्लो वर्ष मनाएको दसैं स्मरणीय रह्यो । यसपालि पनि त्यस्तै हुने आशा छ । दसैंका लागि भनेर पहिले नै मैले छुट्टी लिइसकेकी छु । छोटो बिदामा पनि अस्टे्रेलियामा भएका आफन्त एवं साथीभाइहरूसँग भेट्ने, खानपिन गर्ने, शुभकामना आदान-प्रदान गर्ने विचार गरेकी छु । दसैंको दिन बिहान उठेर मन्दिर जाने तथा गुरुसँग टीका लगाउने चलन छ । मन्दिरमा आफन्तहरूसँग भेट हुन्छ । त्यही टीका थापिन्छ । भेट नहुनेहरूको घरमै गएर टीका थापिन्छ ।

त्यो बेला नेपालमा मनाइएका दसैंहरूको सम्झना आउँछ । हजुरबुबा, हजुरआमासँग मनाएका दसैंका ती सम्झना अहिले पनि आँखाभरि आइरहन्छन् । उहाँहरूले मलाई राजकुमारी सरह माया गर्नुहुन्थ्यो । मेरा रहरहरू पूरा गरिदिनुहुन्थ्यो । विदेशमा हुँदा कुनै पनि चाडपर्व नआइदिए हुन्थ्यो जस्तो लाग्छ । यो दसैं त झनै नआइदिए हुन्थ्यो जस्तो हुन्छ ।

– आरती पोखरेल, अस्टे्रलिया

कतारको दसैं

कतारको तातो भूमिमा चाडपर्व आउँदा मन नेपालमै हुन्छ । बडादसैं सबैभन्दा ठूलो चाड भएकाले यसको त एकदमै सम्झना आउने नै भयो । यहाँ पनि साथीभाइसँग मिलेर नेपालकै तरिकाले दसैं मनाउँछौं । आफूभन्दा ठूलाबडाको हातबाट टीका लगाउने, सानालाई आशीर्वाद दिने काम हुन्छ ।

यसपालि मेरो कम्पनीमा काम गर्ने सबै साथीभाई बोलाएर सबै जना सँगै दसैं मनाउने विचार गरेको छु । अघिल्लो पालि एनआरएनको कार्यक्रममा नेपाल गएकाले नेपालमै दसैं मनाएको थिए । यसपालि भने कतारमै मनाउँदैछु । विदेशमा दसैं मनाउँदा नेपालका धेरै कुरा याद आउँछन् । मन्दिरहरूमा गरिएका पूजापाठ एवं जात्राहरूमा गएका क्षणहरू सम्झन्छु । विदेशमा रहँदा आफन्त, साथीभाइ एवं अग्रजहरूसँग टीका थापेको उत्तिकै सम्झिन्छु ।

– नरेन्द्र भाट, कतार

नाइजेरियाको दसैं

नाइजेरियामा बर्सेनि सबै नेपालीहरू जम्मा भएर टीका लगाई, खानपिन गरी दसैं मनाउने गरेका छौं । यो वर्ष पनि साथीभाइ भेटघाट हुने, टीका लगाउने, खानपिन गर्ने, नाचगान गर्ने योजना छ । दसैंमा मिस गर्ने भनेको परिवार, बुवाआमा नै हो । कैलालीको टीकापुरस्थित कालिकास्थानमा हुने पूजा, राँगा, बोकाको बलिमा हुने उत्सव, साथीभाइ आफन्तसँग हुने भेटघाट सम्झदा मनै कटक्क काटिन्छ  ।

लामो बिदा, चाडबाडको खुसी, भेटघाटको माहोल सबै मिस हुन्छन् । चाडबाड आएको थाहै हुन्न । चाडबाडको बेला पनि अफिसमा बिदा हुन्न, काम गर्नुपर्छ, त्यसले सार्‍है न्यास्रो लाग्छ, मानौं जीवनमा कुनै उत्सव नै छैन ।

– हिक्मत थापा, नाइजेरिया

विदेशबाट भित्रियो दसैं

– युवराज गौतम

विश्वका विभिन्न देशमा करिब ३५ लाख नेपाली बसोबास गर्छन् । अध्ययन र रोजगारीका लागि विदेशी भूमिमा पुगेका कतिपय नेपाली  स्वदेश र्फकने र गाउँघरमै दसैं मनाउने योजना बनाइरहेका छन् । चाडबाडमा नेपालीहरू धेरै खुसी हुन्छन् । एक अध्ययनले नेपालीहरू आफ्नो चाडपर्वमा अत्याधिक खुसी हुने गरेको देखाएको छ । त्यस्तै खुशी साट्न विदेशबाट नेपालीहरू दसैंमा घर आउँछन् ।

उता हजारौं नेपाली विदेशमै दसैं मनाउने तयारी गरिरहेका छन् । दसैं मनाउनकै लागि भनेर वर्षौं पछि बिदा मिलाएर स्वदेश र्फकने नेपालीहरूलाई त्रिभुवन विमानस्थलमा बाक्लै संख्यामा देख्न पाइन्छ । विदेशमा रहँदा छुट्टी मिलाएर दसैं मनाउनुपरे पनि स्वेदशमा भने उनीहरू  साइत मिलाएर दसैं मनाउँछन् । उल्लासका साथ सयौं नेपालीले विदेशबाटै दसैं भित्र्याइसकेका छन् ।

मोरङका नवराज शिवाकोटी ९ वर्षअघि रोजगारीको सिलसिलामा कोरिया पुगेका थिए । ९ वर्ष उनले साथीहरूसँग दसैंको खुसी साटे तर यसपालि उनी नेपाल आउने भएका छन् । ‘यहाँ साथीहरूसँग रमाइलो त गरिन्छ, तर हिन्दू परम्पराअनुसार दसैं मनाउन पाइँदैन,’ त्यसैले यो वर्ष आमाबुबा र आफन्तजनको हातबाट साइतकै टीका लगाएर खुसी साट्नेछु,’ शिवाकोटीले नेपाल आउने योजना सुनाउँदै भने । गाउँघर सम्झँदै पीडा लुकाएर दसैं मनाउनुपर्ने विवशताबाट यसपालि मुक्ति मिलेको छ, नेपाली जनसम्पर्क समितिका सभापति समेत रहेका शिवाकोटीले भने- ‘यो वर्ष गाउँमा उल्लासका साथ परिवार र साथीहरूसँग दसैंमा रमाउनेछु ।’

खाडी मुलुकमा लामो बिदा नमिल्ने भएपछि कतिपय नेपाली स्वदेश आउन पाउँदैनन् । विदेशमा दसैंको साइत मिलाएर होइन, कामको तालिका मिलाएर साथीहरूसँग टीका लगाउनुपर्ने बाध्यता छ । युरोप तथा अमेरिकी मुलुकहरूमा पनि उस्तै समस्या छ । दमकनजिकै दामुना, झापाका सुमन पराजुली र माईपोखरी इलामकी शोभा दुलालको जोडी ६ वर्षपछि दसैं मान्न फिनल्यान्डबाट नेपाल आउँदैछ । शोभा र सुमनको जोडीले आफ्नी १८ महिनाकी छोरीलाई पनि पहिलो पटक नेपाल ल्याउँदैछन् । ‘यस वर्ष सबै आफन्त तथा साथीहरूलाई भेट्ने योजना बनाएका छौं,’ सुमनले भने- ‘६ वर्षसम्म दसैं खिन्नतापूर्ण रह्यो, यसपटक उल्लासमय वातावरणमा मनाउनेछौं ।’

चार वर्षसम्म मलेसियामा सुरक्षागार्ड रहेका सल्यानका कालीबहादुर ओलीसँग दसैं मान्न नपाएको तीतो अनुभव छ । उनी दसैं-तिहार मान्नका लागि दुई महिनाको बिदा मिलाएर गाउँ पुगेका छन् । ‘मलेसियामा पाइला टेकेको दिनदेखि चाडबाड मान्न पाइएन, यस वर्ष परिवार र आफन्तसँग रमाउनेछु’, उनले भने । कालिदास भन्छन्- ‘चाडबाड आउँदा सधैं गाउँघरको सम्झनाले सताउँथ्यो, यो वर्ष मन फुरुङ्ग भएको छ ।’ खुदुनाबारी, झापाका नरेन्द्र अधिकारी दुई वर्षपछि दसैंको एक साता अघि नै गाउँ पुगेका छन् । काखे शिशु र श्रीमतीलाई घरमा छाडेर मलेसिया उडेका अधिकारी यस वर्ष धूमधामसँग दसैं मनाउने तयारी गरिरहेका छन् । ‘छोरी, श्रीमती र आमालाई मलेसियाबाटै लुगाफाटो ल्याइदिएकोछु,’ उनले भने-

‘गाउँको जस्तो दसैं विदेशी भूमिमा हुनै नसक्ने रहेछ, चाडबाड आउँदा गाउँघर सम्झेर आँसु बग्थ्यो ।’

दुई वर्ष दुबईमा रोजगारी गरेर नेपाल आएका पशुपतिनगर इलामका किरण भण्डारीले यो वर्षको दसैंमा अनेकौं रमाइला कार्यक्रमहरू सम्पन्न गर्ने योजना बनाएका छन् । ‘खुसी के हो, विदेशमा रहँदा अनुभव नै गर्न पाइएन,’ उनले भने- ‘यो वर्ष गाउँमा कार्यक्रमहरू गरेर दसैं मनाउने तयारी गरिरहेका छौं ।’ ५ वर्ष कोरिया बसेर दसैं मान्न आफ्नै घर सुनसरी आइपुगेका जीवन बराइलीलाई विदेशको दसैं सधैं खल्लो लाग्यो । ‘आफूभन्दा ठूला दाइ-दिदीहरूले सामूहिक रूपमा टिका लगाइदिए पनि गाउँमा जस्तो रमाइलो अनुभव कहिल्यै गर्न पाइएन,’ बराइलीले विदेश बस्दाको अनुभव सुनाउँदै बराइलीले भने- ‘यो वर्ष गाउँमै दसैंलाई भव्य बनाइन्छ ।’

परिवारसँग भेट गराउने योजना

रेमिट्यान्स सेवाप्रदायक कम्पनीहरूले दसैंतिहारलाई लक्षित गरी अनेकौं आकर्षक योजनाहरू ल्याएका छन् । कम्पनीहरूले विदेशमा रहेका आफन्तसँग भेट गराउनेदेखि बिमा गराउनेसम्मका भव्य अफरहरू सार्वजनिक गरेेका छन् । ‘आइएमई विदेशमा परिवार भेट’ योजनाअन्तर्गत ‘लक्की ड्र’मार्फत एक जनाले चार जनाको परिवारसहित पाँच दिन विदेश भ्रमणको अवसर पाउने छन् । भदौ १६ देखि सुरु भएको र असोज २९ सम्म जारी रहने उक्त योजनामा विदेशबाट रकम पठाउने ग्राहकले अन्य आकर्षक उपहार पनि प्राप्त गर्नेछन् ।

प्रभु रेमिटले पनि दसैं-तिहार-छठ बम्पर योजनाअन्तर्गत रकम पठाउने र पाउने दुवैले उपहार पाउने योजना ल्याएको छ । बम्पर उपहारअन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपहार पाउनेछ भने प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई हरेक हप्ता एकतर्फी हवाई टिकट उपहार दिइनेछ । सेवा रेमिटले पनि ‘पैसा पठाऔं, सेवाबाट कुरा गरौं’ योजना सुरु गरेको छ । यो योजनाअन्तर्गत पैसा पठाउने ग्राहकलाई रिचार्ज कार्डको व्यवस्था गरिएको छ ।

वेस्टर्न युनियनले दसैंतिहारलाई लक्षित गरी ५० हजार रुपैयाँसम्मको नगद उपहार योजना ल्याएको छ । २० हप्ते पैसा दोब्बर योजनाअन्तर्गत हरेक हप्ता एक जनालाई ५० हजार रुपैयाँ नगद उपहार दिने व्यवस्था मिलाइएको छ । सिटी एक्सप्रेसले पनि ‘पैसा हात-हातमा उपहार आठ-आठमा’ योजना सुरु गरेको छ । यो योजनाअन्तर्गत प्रत्येक दिन आठ जनालाई विनप्रुफ ज्याकेट, प्रत्येक आठ दिनमा एक जनालाई स्मार्ट फोन, प्रत्येक महिनाको आठ गते एक जनालाई सुनको सिक्री, चौथो महिनाका आठ गते १ सय ५० सिसिको मोटरसाइकलका साथ अन्य उपहारहरू पनि प्रदान गर्नेछ ।