गत बर्षको ऋण तिर्न नपाउँदै फेरी आयो दशैं : सरु सुनार

गत बर्षको ऋण तिर्न नपाउँदै फेरी आइपुगेको छ, हाम्रा घर आँगनमा दसैं । गरिवले च्यापिएका परिवारमा नयाँ एक जोर कपडा फेर्ने रहर बाँडेर आएको छ दसैं । बर्ष दिनमा मिठो खाने सपना देखाउँदै आएको छ दशैं, आमा बुबाको माकुराको जालो झै बनेको कपडा फेर्ने सपना देखेका हामी दाजु भाई दिदी बहिनीको निधारको पसिना सुक्न नपाउदै आएको छ दसैं । । कति मान्छेको मृत्यको मिति लिएर आएको छ । कतिका चोर ,बलात्कार र डर सँगै भित्रेको छ दसैं । दसैं । कतिका घर परिवारको खुसी सँगै पनि भित्रेको छ दशै, घर परिवारलाई सुखी राख्ने छोराको लाश बाकसमा बोकेर आएको छ दशै, यस्तै यस्तै अनगिन्ति राम्रा नराम्रा सपना बाँडेर आएको छ यो बर्षको दसैं । हाम्रा दाजुभाई दिदी बहिनी आज बिदेशमा दशै आउदा पनि निराश बन्दै घर परिवारको मिठो सम्झना मनभरी लिएर आँसु चुहाउँदै बस्नु परेको छ ।
घर परिवार आफ्नो छोरा छोरी श्रीमानको सम्झनामा निराश बनेका छन् । उमेरले डाँडामाथी डुब्न लागेका बुबा आमा दशैमा अन्तिमपटक टिका लगाएर आशिष दिने रहर रहरमै बाँकि बसेका छन । कतिका परिवारमा आफन्त गुमेको समाचारले दसैं कालो दशा झै घुमिरहेको छ । आमा गुमाएका छन, बुबा गुमाएरका छन्, सहारा टुटेका छन्, काख रित्तिएका छन, सिन्दुर पुछिएका छन फेरी त्यही पिडामा पिडा थप गर्नको लागि आएको छ । यो दसैं दशा बनेको छ कति गरिवमा पिल्सिएकाहरुलाई ,बिहान बेलुका हात मुख जोर्न कठिन हुनेको लागि महाँकाल बनेको छ दसैं, परिवारमा खुसी बाड्ने नाममा चोर्न बाध्य बनाएको छ, अरुको घर फोर्न बाध्य बनाएको छ । कतिका घाँटी रेट्ने बनाएको छ । कतिका सम्पती पानी झै बगाएको यस्तै यस्तै नाना थरी बोकेर आएको छ दसैं । हिन्दु धर्मको महान चाडको रुपमा भित्रिएको दशैं धार्मिक तथा साँस्कृतिक रुपमा महत्व बोकेको पाइन्छ ।
पौराणिक भनाई अनुसार असत्यमाथी सत्यको विजयको उत्सबको रुपमा दसैं मनाइदै आएको पाइन्छ । बिभिन्न देबी देवताको बिभिन्न कथा तथा भनाईले अझ हामीलाई जान्नको लागि सहज सरल बनेका छन् । दसैंले छुटेको परिवार तथा आफन्त बिचमा मेल बनाउने आधुनिक समाजको एक अभिन्न चाडपर्वको रुपमा दशैलाई लिइएको कुरा सांस्कृतिक बिद् तथा जानकारहरु बताउछन् । हुन पनि अंश बन्द गरेका दाजु -भाई परिवार आफन्त, बिदेशियका आफन्त तथा टाढा भएका आफन्त बिचमा सबै एकैपटक भेट गराउने एक सुनौलो मौका मिलाउने गरेको छ यो दसैंले । आफू भन्दा ठूलाबाट आशिष, जमारा लिएर मनाइन्छ । आफन्तले वा ठूला मान्यजनबाट लिएको आशिष तथा जमराले लामो आयु हुने तथा दिएको अशिष लाग्ने भनेर बिश्वास समेत गरिन्छ । फलफुल, सेलरोटी, मासु तथा बिभिन्न परिकार ले गर्दा दशैंलाई मनमोहक बनाएको छ । बालबच्चा तथा ठूलाहरुलाई पिङ, चङगा तथा चर्खे पिङको पनि बिशिष्ट महत्व रहेको पाइन्छ । पछिल्लो समयमा दशै सँग बिभिन्न बिकृती पनि भित्रिएका छन । जसको कारण हाम्रो पवित्र माया सद्भाव बोकेको दशै कलंकित बन्दै गरेको हो कि ? भनेर संस्कृतिक बिदहरु चिन्तनसिल भएको पाउछौ, त्यो सत्य पनि हो । दशैको नाममा अनावश्यक खर्च गर्न प्रबृत्तीले धनको नाश् तथा ज्यानै जाने जस्ता घटना प्रत्येक बर्ष दोहोरीने पनि गरेको पाइन्छ । हुनेहरुको घरमा एक एक खसि राखेर भोज गर्ने चलन पनि बढेको पाइन्छ ।
जाड रक्सी पिउने तास खेल्ने जस्ता बिकृती जन्य क्रियाकलाप बढेको पनि छ यो पक्का पनि राम्रो होइन । साथै गरिवीले पिल्सिएकाहरु भाग्यलाई सराप्दै आँसु सँग सम्झौता गरेर बाच्नु परेको छ । कतिका घर नयाँ कपडाले गर्दा बाल बच्चा खुसी भएका छन भने ठूलाको पनि पहिरन फेरिएको छ तर, कतिका परिवारमा बालबच्चालाई अर्काे बर्ष किन्ने बाचा गर्दै भुलाउनु परेको छ साथै पुरानो कपडा सियोले चुमार्दै तयारी बनाउनु परेको छ । सदाको दशै जस्तै कतिका घरमा खुसी कतिका घरमा आँसु तथा रुवाई सँगै भित्रिएको छ दशै । हुनेखानेको लैलैमा लागेर आफ्नो औकात बिर्सेर फजुल खर्च गर्नु पक्का पनि राम्रो होइन । देखासिकीमा होइन आफ्नो औकात अनुसार खर्च गर्दै मान्यजनबाट आशिष प्राप्त गर्दै आफन्त बिचको सम्बन्धलाई सुमधुर बनाउनको लागि सबैलाई आग्रह पनि हो । दसैंमा गरेका खर्चले बर्ष भरी रुन नपरोस् जीवन भरी छोरा छोरीका लागि ऋण नबनोस् ।
यो दसैंले हामीमा भातृत्व बिकास गरोस् न की कलह, झगदा तथा परिवारमा फुट होइन । सबै नेपालीमा आत्मिएता, इमान्दारिता, हाँसो खुसी सँगै रमाइलो बनोस, यो सालको बडादसैं । औकात अनुसारको काम र व्यबहार गरी राम्रो महत्व बोकेको बडादशैं हामी नेपालीलाई समान तरिकाले मनाउने बाताबरण निमार्ण गरौ । भोलीका दिनमा तिनै गहना तथा कपडाका कारण ज्यान गएका, कुटाई खाएका परिवार विचको सम्बन्ध बिग्रिएका खबर सुन्न नपरोस् । देश बिदेशमा रहनु भएका सम्पूर्ण दाजूभाई तथा दिदी बहिनीहरु जो आफ्नो घर परिवारबाट ताढा हुनुभएको छ उहाँहरु आ-आफ्नो साथीभाइहरुसंग मिलेर नाच-गान गर्दै आफू भन्दा ठूला तथा मान्यजनबाट टिका लिएर मनाउनु होला । जो यो बर्ष टिका परेको छैन उहाँहरु पनि मन दुखित बनाएर नबस्नु होला, छिमेकी तथा साथीभाईहरु संग मिलेर मनाउनु होला । जो जहाँ देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा वडादशैंको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । हामी सबैमा नवदुर्गाले सुख शान्ति प्रदान गरुन । जय दुर्गा ।