परदेशीको दसै : तोयानाथ पौडेल

प्रिय

यो पाली पनि सँगै चाड बाड मनाउने उद्देश्य अधुरै रहने पक्का भयो ! खुर्किएर बाटोका लेऊ र छेउ छाउका बन्मारा र तितेपाती फाड्दै अनि सप्रिएका निल काँडालाई मुठार्दै हौली । करेसामा लटरम्म फलेका नास्पतीमा एक हुल बेबारीसे काला अरिङ्गाल घुम्दा हुन ! छोरोलाई लपक्कै दसैले ढाकेको होला हरेक साल झै दसै नजिकिदै गर्दा छोरोले मेरो खोजी गर्दो हो ! के गरोस् बाबा को काँधमा बसेर मावल जाने बबुरा को रहर रहरै रहेको छ !! हरेक पटक नयाँ लुगा किनेर ल्याइदिंदा ” बाबाले पठाइदिनुभएको” भनेर ढाँटे जस्तै एक पटक फेरि ढाट्नै पर्ने भयो ! ऊ सानै छ मेरो वास्तविकता बुझ्दैन ! बुझ्ने भए पछि अवश्य मलाई बुझ्ला ! मेरा यी त्याग को सही मूल्याङ्कन गरेर मलाई निर्दोस देख्ला !

बाबा अहिले पनि चुहुदो झरिमा घाँसका भारी बोकेर खाली खुट्टा कुनै उकालो चढ्दै हुनुहुन्छ होला ! र अँझै पनि पाईतालाले कुल्चिएका हरेक कुल्चाईमा सन्तान दुख कुल्चिएको महशुस गर्नुहुन्छ होला ! र मेरो दिर्घायु र कार्यसफलताको आशिस अलाप्नु हुदो हो ! बाबा म भर्खर तपाईलाई बुझ्ने भएको छु । जब तपाई हजुर्बा हुनुभयो सन्तान प्रति बाबाआमाले गर्ने स्नेह मैले त्यतिबेला महशुस गरेको हुँ । मैले तपाईका दुखलाई साथ दिन सकेको छैन तर अवश्य एक दिन म तपाईंसँग काँधमा काँध मिलाउन आउने छु ।

आमा उस्तै आँगन को डिलबाट क्षीतिजसम्म हेर्दै मेरो प्रतिविम्ब याद गर्दै हुनुहुन्छ होला । मैले गर्ने हरेक फोनमा आमाका शब्दले म निशब्द हुन्छु । मसँग जबाफ हुदैन । ‘साखासन्तानमा कसैलाई बिदेश जानु परेको छैन तँलाई किन जानु पर्यो ?’ हिड्ने बेलाको यो सब्द कानमा गुञ्जिरहन्छ आमाको ।
यो दसै म बिना मान्नु होला आगामि दसैमा मलाई कुनै सक्तीले रोक्ने छैन !
दुर्गा माताको आशीर्वादले सबैको कल्याण हुने छ । प्रणाम!!!

परदेशी