कृषि विकास बैंकको ५१ प्रतिशत सेयर विदेशीलाई

असोज ७, काठमाडौं– सरकारले कृषि विकास बैंक लिमिटेडको ५१ प्रतिशत सेयर विदेशी रणनीतिक साझेदारीलाई दिने तयारी गरेको छ । साझेदार भित्राउन सरकारले सेयर स्वामित्वको प्रारुप (मोडालिटी) नै परिवर्तन गर्न लागेको हो । यो प्रारुप कार्यान्वयनमा आएपछि बैंकमा बहुमत स्वामित्व विदेशीको र नेपालीको स्वामित्व ४९ प्रतिशत मात्र कायम हुनेछ ।

यसअघि सरकारले बैंकको ५१ मध्ये ३१ प्रतिशत सेयरमात्र विदेशी रणनीतिक साझेदारलाई बिक्री गर्ने निर्णय गरेको थियो । ‘तर ३१ प्रतिशत मात्र सेयर दिँदा विदेशी बैंक नआउने सम्भावना देखिएकाले मोडालिटी परिवर्तन गर्न लागिएको हो,’ बैंकका कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीले भने । एसियाली विकास बैंक (एडीबी)ले नियुक्त गरेका परामर्शदाताले रणनीतिक साझेदारलाई ५१ प्रतिशत सेयर दिनुपर्ने सुझाएको थियो । चीनलगायत विभिन्न देशका बैंकले ५१ प्रतिशत सेयर स्वामित्व माग गरेको आजको कारोबार दैनिकमा खबर छ ।