अस्ताइन् वामपन्थी नेत्री सहाना

असोज ७, काठमाडौं-नेपाली महिला आन्दोलनकी एक धरोहर तथा एमाले नेत्री साहना प्रधानको ८७ वर्षको उमेरमा सोमबार राति ११ बजेर पाँच मिनेट जाँदा निधन भएको छ। विगत तीन वर्षदेखि नसाको समस्याबाट पीडित प्रधान लामो समययता बोल्न सकेकी थिइनन्। यस्तै अवस्थामा गत जेठ २३ गते मस्तिष्कघात भएपछि उनको राजधानीको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको थियो। छोरा उमेशका अनुसार प्रधानको अवस्था पाँच दिनयता गम्भीर थियो। अवस्था गम्भीर बनेपछि उनलाई सघन उपचारकक्षमा इन्कुभेटरमा राखी उपचार गरिएको थियो।

१९८४ असार २७ गते जन्मिएकी साहनाको बाल्यकालका केही समय तत्कालीन बर्मामा बितेको थियो। उनले २००३ सालतिर देशमै पहिलोपल्ट महिला शिक्षा र मतदान अधिकारका लागि आवाज उठाएकी थिइन्। २००४ सालमा दिदी साधना र महिला आन्दोलनकी अर्की हस्ती मंगलादेवी सिंहसँगै नेपाल महिला संघ स्थापनाका लागि उनी सक्रिय भएकी थिइन्। उनी राणाविरोधी आन्दोलनमा पनि संलग्न भइन्।

२००४ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेकी उनले उच्चशिक्षा भारतको लखनउमा हासिल गरेकी थिइन्। बीए पढ्न काठमाडौं फर्केकी उनले २०१० माघ २ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग विवाह गरेकी थिइन्। २०१५ सालमा पुष्पलालको पक्षमा प्रचार गर्दै हिँडेकी उनी २०१७ सालको काण्डपछि फेरि पढाइतिरै लागिन्। २०१८ सालमा पुष्पलाल निर्वासनमा गएपछि उनी अध्यापनमा लागिन्।

२०३५ साल साउन ७ गते पुष्पलालको निधन भएपछि साहनाको राजनीतिक सक्रियता पुन: सुरु भयो। जनमतसंग्रहमा बहुदल पक्षमा प्रचार गर्नेदेखि २०४२ सालमा कांग्रेसको सत्याग्रहलाई समेत उनले सघाएकी थिइन्। पुष्पलाल समूह र मनमोहन अधिकारी समूह मिलाएर नेकपा माक्र्सवादी गठन भएपछि उनी केन्द्रीय नेतृत्वमा रहिन्।

२०४६ सालमा संयुक्त वाममोर्चाकी अध्यक्ष रहेकी साहना अन्तरिम मन्त्रिपरिषद्मा दोस्रो मर्यादाक्रममा रहँदै उद्योग-वाणिज्यमन्त्री बनेकी थिइन्। नेकपा माले र माक्र्सवादीबीच एकता भएपछि उनी पार्टीको शीर्ष नेतृत्वमा रहिन्। उनी एमाले विभाजन भएर बनेको नेकपा मालेको अध्यक्ष पनि बनिन्। उनी समाजकल्याण र परराष्ट्रमन्त्री पनि बनेकी थिइन्। साहनाका छोरा उमेश र छोरी उषा छन्।