नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त बैठक आजदेखि सुरु

असोज ६, काठमाडौँ-विगत २२ वर्षदेखि चर्चामा आएर पनि कुनै पनि प्रक्रिया अगाडि बढ्न नसकीरहेको पञ्चेश्वर जलविद्युत् आयोजनाका विषयमा नेपाल–भारत संयुक्त ऊर्जासचिव स्तरीय बैठक आजबाट शुरु हुदैछ । काठमण्डौंमा सुरु हुने बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीकोे टोलीले नेतृत्व गर्दैछ । क्षेत्रीको टोलीमा सहसचिव केशवध्वज अधिकारीलगायत, नेपाल विद्युत् विकास विभाग, सिँचाइ मन्त्रालय, जल तथा ऊर्जा आयोग, नेपाल विद्युत् प्राधिकरण, अर्थ र परराष्ट्र मन्त्रालयका पदाधिकारी सहभागी हुनेछन् ।

त्यस्तै भारतका तर्फबाट जलस्रोत सचिव आलोक राउतले टोलीको नेतृत्व गर्नु हुनेछ । बैठकमा आयोजनालाई कसरी अगाडि बढाउने तथा लागत कति लाग्ने भन्ने विषयमा छलफल केन्द्रित हुने आयोजना प्रमुख चिरञ्जीवी चटौतले जानकारी दिए । महकाली नदीमा निर्माण हुने बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने विषयमा गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सहमति भएको थियो ।

बैठकमा भाग लिन भारतिय जलस्रोत सचिवको नेतृत्वमा ११ सदस्सीय टोली हिजो नै नेपाल आइपुगी सकेको छ । पाच हजार ६ सय मेगावाट विद्युत उत्पादन हुने र दुवै मुलुकको बृहत् क्षेत्रमा सिचाइ सुविधासमेत उपलब्ध गराउने लक्ष्य राखिएको यो आयोजनालाई रणनीतिक महत्वको आयोजनाको रुपमा लिने गरिएको छ ।