विद्यार्थी नेतृको छातीमा आफ्नै सहकर्मीले तातो चिया खन्याएपछि………

असोज ३,काठमाडौं–विद्यार्थी नेतृबीच झगडा हुँदा नेविसंघ केन्द्रीय सदस्य एन्जिला न्यौपानेको शरीरमा तातो चिया खन्याइएको छ । पद्मकन्या क्याम्पसकी निवर्तमान स्ववियु सभापति स्वस्तिका पोखरेलले न्यौपानेको छातीमा तातो चिया खन्याएकी हुन् ।
नेविसंघ क्याम्पस इकाइको चियापान भइरहेका बेला मंगलबार झगडा परेपछि इकाइ सचिवसमेत रहेकी न्यौपानेको शरीरमा पोखरेलले थर्मसको तातो चिया खन्याएकी हुन् । चियाले पोलेर न्यौपानेको कुमदेखि छातीसम्म घाउ भएको छ ।
पीडित न्यौपानेले इकाइ अधिवेशनको विषयलाई लिएर झगदा गर्दै पोखरेलले चिया खन्याइदिएको बताइन् । उनले भनिन्,‘कुटपिट गर्दै थर्मसको चिया मेरो शरीरमा खन्याइदिइन्,आधा चिया अर्को साथीलाई परेको थियो,उसले जाकेट लगाएको भएर बच्यो,मेरो शरीर पोल्यो ।’
पीडित न्यौपानेले पोखरेलसहित पाँचजना विरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा किटानी जाहेरी दिएकी छिन् । उनले कारबाहीका लागि नेविसंघ तथा पार्टीमा पनि उजुरी दिएकी छिन् ।