मनाङ टोली कोलम्बो प्रस्थान

आश्विन २,काठमाडौ-एएफसी प्रेसिडेन्ट्स कपको अन्तिम चरण खेल्न लिग च्याम्पियन लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब श्रीलंकाको कोलम्बो गएको छ। १०औं संस्करणमा हुन लागेको यो प्रेसिडेन्ट्स कपको अन्तिम संस्करण हो। एसियाली फुटबल महासंघले प्रेसिडेन्ट्स कपलाई अर्को वर्षदेखि होम एन्ड अवेका आधारमा एएफसी कपमा परिणत गर्ने घोषणा गरिसकेको छ। सन् २००५ देखि एएफसीको  श्रेणी देशका लिग च्याम्पियनले प्रेसिडेन्ट्स कप खेल्दै आएको छ। प्रेसिडेन्ट्स कपको अन्तिम संस्करण जितेर इतिहास बनाउने लक्ष्यसहित श्रीलंका लागेको मनाङ टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामा र अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापाले बिदाइ गरे।

वैशाखमा मंगोलियामा भएको छनोट चरणमा मनाङले पहिलोपल्ट अन्तिम चरणमा पुग्दै इतिहास बनाएको थियो। समूहबाट फाइनल चरणमा पुग्दा मनाङले कम्बोडियाको सेभरिङलाई ६–३ ले हराउँदै मंगोलियाको इर्चिम एफसीसँग गोलरहित बराबरी खेलेको थियो।कोलम्बोमा ६ दिन चल्ने प्रेसिडेन्ट्स कपमा मनाङसँगै ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। मनाङले उद्घाटन खेलमा शनिबार समूह एु अन्तर्गत घरेलु टोली श्रीलंका एयर फोर्ससँग खेल्नेछ। दोस्रो खेलमा मनाङको भेट तुर्कमेनिस्तानको एचटिटियु अस्गाबागसँग सोमबार हुनेछ।