राजमार्गका होटलमा एउटै मूल्य

असोज १,चितवन-यात्रुले खाना खाने राजमार्गका सबै होटलमा एउटै मूल्य कायम भएको छ। चितवन होटल संघको पहलमा निर्धारण भएको मूल्य बुधबारदेखि लागू हुने छ।  आजकाे नागरिक दैनिक लेख्छ चितवन होटल संघले जिरामसिनो चामलको भात, दुई थरी तरकारी, दाल, अचार र सलादको मूल्य एक सय २० रुपैयाँ तोकेको छ। मासुमा माछा र कुखुरा खाए ६० र खसी खाए ९० रुपैयाँ थप तिर्नु पर्छ। संघले सादा चाउचाउ, अन्डा राखेको चाउचाउ, चाउमिन, मोःमो, दही र बोतल पानीको पनि मूल्य तोकेको छ।

मूल्यसूची तोकिए पनि होटलमा रोकिने बसका चालकलाई पैसा र सुविधा दिनुपर्ने बाध्यता रहेसम्म कम मूल्यमा गुणस्तरीय खाना ख्वाउन नसकिने व्यवसायी बताउँछन्। हामीले मूल्य तोकेका छौं । खाना–नास्ताको न्यूनतम गुणस्तर कस्तो हुने हो, त्यो पनि तोकेका छौं। सबै होटलले त्यहीअनुसार गर्नेछन्। त्यसो भएपछि चालकलाई कमिसन दिनु पर्दैन, चितवन होटल संघका अध्यक्ष इमान्दु बरालले भने। अब यात्रुले उचित मूल्यमा राम्रो खाना पाउने र होटल सञ्चालकलाई पनि नाफा हुने उनले बताए ।

दसैं–तिहारमा यात्रुको चाप बढ्ने भएकाले ग्राहक तान्न राजमार्गका होटलले चालकलाई बढी कमिसन दिनुपर्ने हुन्छ। अरु बेला सुनसान हुने होटल यो बेला भरिभराउ हुन्छन् । चालकलाई निश्चित पैसा दिएर गाडी रोक्न लगाइन्छ । ११ महिनाको घाटा यही बेला निकालिन्छ,रामनगरका स्थानीय तथा पूर्वहोटल व्यवसायी भरत कुँवरले भने । रामनगरकै अर्का होटलमालिक कृष्ण भट्ट बस चालकलाई जसले धेरै कमिसन दिन्छ उसकै होटलअगाडि गाडी रोकिदिने बताउँछन् । कमिसनको पैसा ग्राहकको खानामै जोडिने हो,उनले भने । रामनगरकै गीताञ्जली होटलकी गीता घिमिरे पनि नयाँ मूल्यमा गुणस्तरीय खाना ख्वाउन चालकलाई रकम दिनुपर्ने परिपाटी रोकिनै पर्ने बताउँछिन् ।

म भत्ता दिन्छु, म त्यसको भन्दा धेरै दिन्छु भन्दै गाडी रोक्न लगाउने होटल रहँदासम्म यात्रुले उचित मूल्यमा गुणस्तरीय खाना खान पाउने अवस्था रहँदैन, घिमिरेले भनिन् । होटल संघ चितवनका अध्यक्ष बराल चितवनदेखि नवलपरासी र मकवानपुरसम्मका होटलमा समान मूल्यसूची कायम गरिएकाले एकरुपता हुने र चालकलाई पैसा दिन नपर्ने बताउँछन् ।

नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्म, चितवन र मकवानपुरमा यात्रुले खाना खाने तीन सय होटल छन् । ती सबैमा मूल्यसूची राखिने र लागू गराउन हरबखत सक्रिय हुने होटल संघ मकवानपुरका अध्यक्ष भगिरथ शर्माले बताए । तोकिएको मूल्यमा तोकिएकै गुणस्तरको खाना नदिने होटलविरुद्ध उजुरी गर्न सकिने छ ।

मूल्यसूचीमा उजुरी गर्ने निकायको नाम र सम्पर्क नम्बर छ । उजुरी आए कारबाही गर्न सधैं तयार रहने चितवनका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले बताए । होटल संघले जारी गरेको मूल्यसूची राखे, नराखेको र गुणस्तर कायम गरे, नगरेको पनि बेलाबेलामा अनुगमन गर्ने अध्यक्ष बरालको भनाइ छ । जिल्ला प्रशासन कार्यालय र होटल व्यवसायी संघको समन्वयमा चाँडै नै धादिङका होटलमा पनि मूल्यसूची राख्ने स्थानीय व्यवसायीको तयारी छ ।