साइत जुराएर ‘आभाष’को गीत सार्वजनिक

भदौ ३१, काठमाडौँ-चलचित्र सम्पादक सुरेन्द्र पौडेलले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘आभाष’ले  राजधानीमा साइत हेराएर आफ्नो भिडियो गीत सार्वजनिक गरेको छ । छेतेन गुरुङको संगीत रहेको यस फिल्मको गीतको भिडियोलाई ज्योतिषले दिएको साईत अनुसार मध्यान्ह १२ बजेर ४१ मिनेट जाँदा बागबजारस्थित सिनेम्याक्स हलमा सार्वजनिक गरिएको हो ।

कमल क्षेत्री र सशी रावलको स्वर रहेको गीतमा संयम पुरी, सलोन बस्नेत र आश्मा डिसी प्रस्तुत भएका छन् । गीतमा यि तीन कलाकारको रोचक ‘क्यामेस्ट्री’ देख्न सकिन्छ । भिजेको रुपमा परिचय बनाएकी अभिनेत्री आश्माको यो डेब्यु चलचित्र हो । गीतको भिडियोलाई पोखरा सडकखण्ड र पोखराको रमणीय स्थलमा छायांकन गरिएको छ । कार्यक्रममा संयम, सलोन र आश्मा तीनै जनाले नै फिल्मको छायांकन निकै रमाइलोसँग भएको र सकिएको पत्तै नभएको भनाइ राखे ।

चलचित्रमा निशा अधिकारी, प्रकृती श्रेष्ठ र रविन्द्र अधिकारीको पनि विशेष उपस्थिती रहेको बताइएको छ । यो चलचित्रले युवा पुस्ताको प्रेम, खुसी, दुःखलाई मुख्य रुपमा उठाएको बताइएको छ । आफुले निर्माण गरेको अन्य चलचित्र भन्दा ‘आभाष’ राम्रो बनेकोले दर्शकले रुचाउनेमा आफु विश्वस्त रहेको निर्माता गोविन्द शाहीले बताए । चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । ग्लोसी पिक्चर्स र क्रियटीभ फिल्मको संयुक्त व्यानरमा निर्माण भएको यस चलचित्र पौष २५ गते प्रदर्शन हुँदैछ ।