बुधबारदेखि नयाँ नोट वितरण गरिने

भदौ ३१, काठमाडौँ-नेपालीहरूको महान् चाड बडादसैँका लागि नेपाल राष्ट्र बैंकले बुधबारदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म रु ४० अर्बदेखि रु ४५ अर्बसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् । पूजा तथा दक्षिणाका लागि सफा नोटको प्रयोग गर्नाले फल प्राप्ति हुने हिन्दू धर्मावलम्बीमा विश्वास रहिआएकाले बर्सेनि केन्द्रीय बैंकले अर्बौंको नयाँ नोट वितरण गर्दै आएको छ ।      यस वर्ष रु ५, १०, २०, ५० र १०० दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रतिव्यक्ति रु ५, १० र २० का दुई-दुई प्याकेट र रु ५० र १०० दरका एक÷एक प्याकेट गरी रु २२ हजारसम्म नयाँ नोट उपलब्ध गराइने बताउनुभयो ।