प्राधिकरण निमित्तको भरमा नचालाऊ : ऊर्जा समिति

भाद्र ३०,काठमाडौ- संसदको कृषि तथा जलस्रोत समितिले विद्युत् प्राधिकरण, यसका क्षेत्रीय कार्यालय र विभिन्न शाखा निमित्तको भरमा नचलाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले मन्त्रालयलाई ७ दिनभित्र निमित्तको ठाउँमा कार्यकारी निर्देशक, शाखा प्रमुख र क्षेत्रीय कार्यालय प्रमुख नियुक्ति गर्न पनि निर्देशन दिएको छ।

‘कार्यकारी प्रमुखसहित विद्युत् प्राधिकरणका शाखा र क्षेत्रीय कार्यालयहरू निमित्तका भरमा चलेका छन्,’ समिति सभापति गगन थापाले भने, ‘निमित्तको ठाउँमा ७ दिनभित्र कार्यकारी निर्देशक, शाखा प्रमुख, क्षेत्रीय प्रमुख नियुक्ति गर्न निर्देशन दिने निर्णय गरियो।’ निमित्तलाई पूर्ण अधिकार नहुने र त्यसले प्राधिकरणको काम प्रभावकारी बन्न नसक्ने भन्दै समितिले यस्तो निर्देशन दिएको कान्तिपुरमा खबर छ ।

ट्रान्स्र्फमर घोटालामा २०७० भदौमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि प्राधिकरण निमित्त कार्यकारी निर्देशकको भरमा चलेको छ। प्राधिकरणका अधिकांश शाखा, क्षेत्रीय कार्यालय र इकाई पनि निमित्तका भरमा चलेका छन्। ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीले एक साताभित्र कार्यकारी निर्देशक नियुक्तिका सम्बन्धमा ठोस निर्णय हुने बताए। ‘सर्वोच्च अदालतबाट मुकेश काफ्लेका सम्बन्धमा भएको निर्णयको पूर्ण पाठ आइसकेको छ,’ उनले भने, ‘एक साताभित्र निर्णय हुन्छ।’ काफ्ले प्राधिकरणको कार्यकारी निर्देशकको प्रतिस्पर्धामा वैकल्पिक उम्मेदारका रूपमा छनोट भएका थिए।

अख्तियारको कारबाहीसँगै यादव निलम्बनमा परेपछि काफ्लेले वैकल्पिक उमेदारको हैसियतमा आफू प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा नियुक्त हुन पाउनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थिए। सर्वोच्चले करिब डेढ महिनाअघि काफ्लेलाई कार्यकारी निर्देशकमा नियुक्त गर्न आदेश जारी गरेको थियो।

त्यस्तै समितिले मन्त्रालयलाई निर्माणाधीन र निर्माण गर्ने योजनामा रहेका जलविद्युत् आयोजना र प्रसारण लाइनको समस्या र समाधानका उपायसहित चालू आर्थिक वर्षको मितिसहितको कार्यतालिका १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ। खासगरी प्राधिकरणले बनाइरहेका सबै आयोजनाको लागत अत्यधिक बढेपछि समितिले कडा निगारानी बढाउने संकेत गर्दै यस्तो कार्ययोजना मागेको हो।