प्रभावकारी काम गर्ने नवनियुक्त मन्त्रीद्धयको प्रतिबद्धता

भदौ  २९,काठमाडौँ-नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री दीपकचन्द्र अमात्यले आज पद बहाली गरेका छन् । पद बहालीका क्रममा मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले मन्त्रालयका गतिविधिबारे मन्त्री अमात्यलाई जानकारी गराएका थिए ।

सो अवसरमा आयोजित कार्यक्रममा मन्त्री अमात्यले अब भाषणले मात्र काम नहुने भन्द कुनै पनि ढिलासुस्ती नगरी नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । सचिव श्रेष्ठले नेपालको अर्थतन्त्रमा पर्यटनको महत्वपूर्ण भूमिका हुने भएकाले यसमा संवेदनशील भएर काम गरिने बताउँदै मन्त्री र मन्त्रालयका कामकारबाहीमा कर्मचारीका तर्फबाट २४सै घन्टा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै नवनियुक्त उद्योगमन्त्री महेश बस्नेतले पनि आज मन्त्रालयमा पद बहाली गरेका छन् । मन्त्रालयका सचिव उत्तमकुमार बस्नेतले मन्त्रालयका गतिविधिबारे मन्त्री बस्नेतलाई जानकारी गराए ।सो अवसरमा मन्त्री बस्नेतले मुलुकमा उद्योगको विकास विस्तार र रोजगारी सिर्जना गर्नेलगायत कुरामा मन्त्रालय मातहतका विभागीय प्रमुख र कर्मचारीबीच आपसमा छलफल र परामर्श हुने बताए ।