इवोलाविरुद्दको औषधि पहिला किन बनेन ?

भदौं २९,एजेन्सी-इबोला विषाणु भाइरस ले मानिसको मृत्यु तथा आतंक फैलाएको लगभग चार दसक भइसकेको छ तर पनि यो रोग निवारणको औषधि उत्पादन गर्ने कुरामा पैसा र नाफा नै सबैभन्दा प्रमुख बाधा रहेको विशेषज्ञहरूले बताएका छन्। अन्नपूर्ण पोस्ट दैनिक लेख्छ यो रोगको नराम्रो नाम भए पनि यो रोग गरिब अफ्रिकी मुलुकमा छोटो समयका लागि अकस्मात देखिने घटना भएको छ। सानो क्षेत्र तथा गरिब बजार भएकाले ठूला औषधि उत्पादकका लागि यो रोगको औषधि उत्पादन आफैँमा कम प्राथमिकतामा परेको छ। यस्तो रोग उपचारका लागि औषधि वा खोप तयार गर्न दशौँ लाख अमेरिकी डलर लाग्ने गर्छ।

वर्षौँसम्म न्यून प्रगति भए पनि हाल अमेरिकी प्रतिरक्षा मन्त्रालय पेन्टागन प्रमुख कोष प्रदायक भएकाले इबोलाविरुद्धको खोपको खोजीले उच्च गति प्राप्त गरेको छ र नाफाको उद्देश्य हालका लागि पछि परेको छ । लन्डन स्कूल अफ हाइजिन तथा ट्रपिकल मेडिसिनका निर्देशक प्राध्यापक पिटर पियटले हालसम्म पश्चिम अफ्रिकी महामारीको रूपमा रहेको इबोलालाई सार्वजनिक स्वास्थ्यको समस्याको रूपमा नलिइएको र कमै देखिने रोगको रूपमा लिइने गरिएको बताए । उनले सन् १९७६ मा इबोला विषाणु पत्ता लगाएका थिए।

प्राध्यापक पिटर पियटले एएफपीलाई पठाएको एक इमेलमा यस रोगका विषयमा औषधि उत्पादक संस्थामा मात्र होइन सबैतिर कम अभिरुचि देखिएको उल्लेख गरेका छन् । उनले हाल अवस्थामा परिवर्तन भएको र दुई प्रमुख कम्पनी ग्लाक्सोस्मिथक्लाइन तथा जोनसन एन्ड जनसन सब्सिडियरीले यस क्षेत्रमा लगानी गरिरहेको बताए ।