संविधान जारी गर्ने अनुकुल वातावरण बन्दैछ –नेम्वाङ

भदौ २८, काठमाडौँ-संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्धारित समयमानै संविधान जारी गर्नका लागि अनुकुल वातावरण सृजना हुदै गएको बताउनुभएको छ ।  नेपाल राष्ट्रिय खड्गी समाजको प्रथम राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधानसभाभित्रका दल तथा बाहिरका दलबीच हुन लागेको छलफलले निर्धारित समयमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष नेम्वाङले सबै जाति तथा समुदायका नेपालीलाई समेट्ने संविधान निर्माण भएपछि मात्र आर्थिक, सामाजिक दृष्टिकोणले पछि परेका वर्गलाई समुन्नतितर्फ लैजान सकिने धारणा राख्नु भयो । कार्यक्रमका संयोजक जोगरत्न खड्गीले नेवार जनजातिभित्रको पिछडिएको सो समुदायका अधिकारलाई संरक्षण गर्न समाज क्रियाशील रहेको बताउनुभयो ।  आजै सम्पन्न हुने सो सम्मेलनमा देशका विभिन्न १९ जिल्लाबाट करिब ५०० प्रतिनिधि सहभागी रहेका छन् भने सम्मेलनले नयाँ कार्य समितिको निर्वाचन गर्ने छ ।