संस्थाको मान्छे बन्न प्रम कोइरालाको आग्रह

भदौ २८, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले पार्टी कार्यकर्तालाई कुनै व्यक्ति वा नेता विशेषको नभई संस्थाको मान्छे बन्न आग्रह गर्नुभएको छ ।     हालै पोखरामा सम्पन्न नेपाल प्रेस युनियनका नवनिर्वाचित कार्यसमितिलाई आज आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिने क्रममा प्रधानमन्त्री कोइरालाले प्रेस युनियनका सदस्यहरूलाई पनि कुनै गुट उपगुटका पछाडि नलागी पत्रकारिताको सिद्धान्त र पार्टीको विचारप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभयो ।     आफ्नो पार्टी नेपाली काँग्रेस एक भएर पनि दुई पार्टी जस्तो देखिएकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने जिम्मा अब युवा वर्गको काँधमा आएको बताउनुभयो ।     प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “काँग्रेस विचार र सिद्धान्तका आधारमा सम्पन्न पार्टी भएकाले यसको भविष्य सधँै उज्ज्वल रहेको बताउनुभयो । फरक प्रशङ्गमा प्रधानमन्त्री कोइरालाले तोकिएको समयमा लोकतान्त्रिक संविधान बन्ने आशा व्यक्त गर्दै त्यसको तयारीका लागि सर्वपक्षीय राष्ट्रिय भेलाको समयसमेत तोकेर संविधानसभा बाहिर रहेका दलहरूलाई पनि सहमतिमा ल्याइने विश्वास दिलाउनुभयो ।      मुलुकमा छिट्टै शान्ति र स्थायित्व कायम भई समृद्धितर्फ लम्कने बताउँदै प्रधानमन्त्री कोइरालाले त्यसका लागि सबै दल, सङ्घसंस्था, बुद्धिजीवी तथा आमनागरिक एकजुट भएर अघि बढ्नुपर्ने सुझाउनुभयो ।