टुरिस्ट विद्यार्थी थिए राजेश हमाल

भदौ २८, काठमाडौं । नेपाली चलचित्रका सफल अभिनेताको परिचय बनाएका राजेश हमाल आफूलाई टुरिस्ट विद्यार्थी भन्न रुचाउँछन् । स्कुल फेर्दाफेर्दै फिरन्ते विद्यार्थीकै रुपमा एसएलसी सकेका रहेछन् हमालले । उनका बाबु चूडाबहादुर हमाल एक समयका सफल कूटनीतिज्ञ थिए ।

राजदूतका रुपमा बाबु सरुवा भएर जुनजुन देश पुग्थे, राजेश पनि बाबुसँगै हुन्थे । ‘सरुवा भएपछि बुबाको देश परिवर्तन हुन्थ्यो भने मेरो स्कूल फेरिन्थ्यो,’ हमालले भने, ‘एक वर्ष एउटा स्कुलमा पढ्यो । अर्को बर्ष त बुबाको सरुवका कारण अर्कै स्कूल पुगिन्थ्यो ।’

‘कुनै बेला एउटा कक्षा उत्तीर्ण गर्न दुई ओटा स्कूल फेर्नुपथ्यो,’ अभिनेता हमालले भने । सोही कारण उनले आफूलाई टुरिस्ट स्टुटेन्डका रुपमा लिएको राजधानीमा खबर छ । यिनै अभिनेता, जो भारतीय दूतावास तथा वीपी कोइराला नेपाल-भारत प्रतिष्ठानको नियमित कार्यक्रम भ्वाइसेसको १७ औं शृखंलामा शुक्रबार प्रस्तुत भए । जब उनले आफ्नो जीवनका आरोहअवरोह सुनाउन थाले, उनलाई सुन्न गएका त्रिवि कीर्तिपुरका एक विद्यार्थी भन्दै थिए, ‘मलाइ त राजेश हमालको यथार्थ वृत्तचित्र हेरिरहेको महसुस भइरहेको छ ।’ अभिनेता हमालले धाराबाहि अंग्रेजीमा आफ्नो जीवनकथा सुनाएको ती विद्यार्थीलाई औधी मन परेछ ।

यसरी जीवनका कथाव्यथा पोख्ने क्रममा अभिनेता हमालले भन्दै थिए, ‘धेरै स्कुल चहारेकै कारणले होला, म स्कुले जीवनमा निकै चकचके थिएँ ।’ स्कुल फेरिँदा साथीहरु पनि त्यत्तिकै फेरिन्थे उनका । फरकफरक स्वभावका साथीको संगत । सोही कारण आफू चकचके बनेको हुनुपर्ने ठम्याइ थियो उनको ।