ग्यासका कारण निगम घाटामा

भदौ २७, काठमाडौँ-नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी घाटा भएका कारण घाटा घट्न नसकेको जनाएको छ । निगमका अनुसार प्रतिसिलिन्डर ग्यासमा रु ५५३ घाटा रहेको कारण मासिक घाटा नघटेको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गए पनि एलपी ग्यासमा मूल्य घटबढ हुन नसक्दा घाटा यथावत रहेको हो ।      निगमले ल्याउने पेट्रोलियम पदार्थमध्ये सबैभन्दा महँगो मूल्यमा एलपी ग्यास नै ल्याउने गरेको तथ्याङ्कबाट देखिएको छ । प्राप्त तथ्याङ्कअनुसार रक्सोलको खरिद मूल्य प्रतिसिलिन्डर एक हजार ४७९ रहेको छ भने त्यसमा रु २४५ मूल्य अभिवृद्धिकर,  ५६.८० पैसा निगमको ऋणको ब्याज खर्च,  ११८ ढुवानी भाँडा,  ७.१० पैसा निगमको प्रशासनिक खर्च, रु ६२.५५ पैसा कमिशनलगायतको खर्च जोड्दा रु दुई हजार २३ पर्न जान्छ ।  निगमले एक हजार ४७० मा प्रतिसिलिन्डर ग्यास बेच्दै आएको छ । हाल पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धनबाट आन्तरिक र अन्तर्राष्ट्रियमा निगमलाई नाफा हुँदै आए पनि ग्यासमा भएको घाटाका कारण समस्या जहाँको तहीँ रहेको निगमको भनाइ छ । हाल निगमलाई पेट्रोलमा रु १४.२७, डिजलमा रु ०.४१, मट्टीतेलमा रु १४.२२, हवाई इन्धन आन्तरिकमा रु ३९.४१ र अन्तर्राष्ट्रियमा रु ४६.६३ पैसा प्रतिलिटर नाफा हुँदै आएको छ ।  खाना पकाउने ग्यासलाई घरेलु र औद्योगिकमा वर्गीकरण गर्ने भनेर अवधारणा अगाडि सारेको पनि लामो समय भइसकेको छ । तर सो निर्णय हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।  रातो र निलो रङ्गको सिलिन्डर बनाउने र घरायसी प्रयोगका लागि अनुदान दिने नीति अगाडि सारे पनि सो कार्यान्वयन हुन सकेको छैन । दैनिक उल्लेख्य सङ्ख्यामा ग्यास प्रयोग गर्ने होटल, औद्योगिक प्रतिष्ठान तथा अन्य व्यावसायिक निकायले पनि एउटै मूल्यमा ग्यास पाउने र घरायसी प्रयोजनका लागि पनि एउटै मूल्य तिर्नुपर्ने स्थितिले समस्या आएको हो ।