संसद् अवरुद्ध गर्नु गलत कार्य– डा महत

भदौ २५,विराटनगर अर्थमन्त्री डा.रामशरण महतले  एकीकृत नेकपा माओवादी लगायतका दलले संसद् अवरुद्ध गर्ने कार्य गलत र गैरजिम्मेवारी पूर्ण भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै  उनले  उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको संविधानसभासँग कुनै सम्बन्धमा नरहेकाले संसद् अवरुद्ध गर्नु गलत भएको धारणा व्यक्त गरेका छन् । डा महतले जनताले दिएको जनादेश संविधानसभा भएकाले  गैरसंवैधानिक संयन्त्रको कुनै आवश्यक नरहेको धारणा व्यक्त गर्दै संयन्त्रले दिएको सुझाव ग्रहण गर्ने नगर्ने सम्पूर्ण अधिकार सभामा मात्र रहेको प्रष्ट पारे । अर्थमन्त्री डा महतले सङ्घीयतालाई थाँती राखेर संविधान जारी गर्न सकिने आफूले कहिले नभनेको प्रष्ट पार्दै सङ्घीयता संविधानको अभिन्न अङ्ग भएकाले यसलाई थाँती राखेर संविधान जारी गर्न नसकिने  बताएका छन् । संविधान निर्माण गर्ने क्रममा अनावश्यक विवाद गरी धेरै समय खेर गइसकेकाले अब कुनै पनि बहानामा संविधान निर्माण प्रक्रियालाई अवरुद्ध गर्न नहुने उनको तर्क थियो ।