बेलायती कूटनीतिज्ञको समलिंगी बिहे

भदौ २५, काठमाडौँ-बेलायतका समलिंगी बिहेसम्बन्धी संघसंस्थामाथि विवाद जारी रहेका बेला एक जना बेलायती कूटनीतिज्ञले चीनमा समलिंगी बिहे गरेका छन्। चीनको आर्थिक राजधानी मानिने सहर संघाईस्थित बेलायती नियोगका कन्सुलर जनरल ब्रेन डेभिडसनले समलिंगी बिहे गरेको सञ्चारमाध्यमले जनाएका छन्।  कन्सुलर जनरल डेभिडसनले चीनका लागि बेलायती राजदूत सेबास्टिन उडको निवासमा समलिंगी बिहे गरेका बताइएको छ। डेभिडसनले अमेरिकी नागरिक स्कट चेन्जसँग बिहे गरेका बेलायती अखबारले जनाएका छन्।
उनले गएको शनिबार बिहे गरेको सामाजिक सञ्जालको आफ्नो ब्लगमा उल्लेख गरेका छन्। समलिंगी बिहे गरेको डेभिडसन–चेन्ज जोडीसँग चीनका लागि बेलायती राजदूतले तस्बिर पनि खिचाएका थिए। विश्वभरका रहेका करिब २४ बेलायती नियोगमा बेलायती नागरिकले समलिंगी बिहे गर्न पाउने अधिकार दिइएकोले उक्त अधिकार उपयोग गर्दै डेभिडसनले बिहे गरेको समाचारमा उल्लेख छ। बेलायती राजदूत सेबास्टिन उडले विवाहित समलिंगी जोडीसँग बसेर खिचाएको तस्बिर सामाजिक सञ्जालमा अपलोड गरेको पनि सञ्चारमाध्यमले उल्लेख गरेका छन्। राजदूत उडले आफ्नो टि्वटरमा टि्वट गरेका छन्, ‘आज मलाई हाम्रा साथी ब्रेनको विवाह समारोह आयोजना गर्न पाएकोमा खुसी लागेको छ।’
विवाहित समलिंगी जोडीको बीचमा उभिएका राजदूत उड मुस्कुराइरहेका छन्। साथै उनले टि्वटरमा विवाहित जोडीलाई बधाई पनि दिएका छन्। बेइजिङस्थित बेलायती दूतावासका प्रवक्ताले डेभिडसनको समलिंगी विवाहको पुष्टि गरेका छन्। उनले बिहे उनीहरूको निजी मामिला भएकोले यसबारे दूतावासले केही भन्नु आवश्यक नरहेको बताए।
समलिंगी बिहे सार्वजनिक भएपछि चीनमा यसबारे विभिन्न प्रतिक्रिया भएका छन्। तर चीनमा पनि समलिंगी बिहे अवैधानिक मानिँदैन। तर चीनमा हुने समलिंगी क्रियाकलापको आलोचना हुने गर्छ। त्यहाँ समलैंगिकतालाई सामाजिक रुपमा हेय भावमा हेरिन्छ। साथै चीनमा यस्ता बिहे प्रतिबन्धित नभए पनि समलिंगी अधिकारवादी संघ संगठनलाई भने स्वीकारिँदैन।
डेभिडसन–चेन्जको बिहेप्रति नकारात्मक प्रतिक्रिया जनाउँदै एक जना चिनियाँ नागरिकले बेलायत वास्तवमै बिरामी भएको र समलिंगी बिहे रोमको अन्तिम दिनजस्तै भएको उल्लेख गरेका छन्। अर्का नागरिकले आफूले बेलायती केटाले केटासँग गर्ने बिहे संस्कृतिको सम्मान त गर्छु तर यो हाम्रो चिनियाँ संस्कृति भने होइन भनेका छन्।