त्रिशूली-काठमाडौं सडकमा पहिरो, ८० यात्रुको उद्धार

भदौ २५,काठमाडौं-नुवाकोटको त्रिशूलीबाट काठमाडौंतर्फ आउने सडकका एक सयभन्दा बढी ठाउँमा मंगलबार पहिरो जाँदा अलपत्र परेका ८० जनाभन्दा बढी यात्रुलाई डोरीको सहायताले उद्दार गरिएको खबर आजको अन्नपूर्णमा छापिएको छ। बिहानदेखि परेको पानीका कारण जताततै पहिरो गएपछि सडकमा गुडिरहेका एक दर्जनभन्दा बढी गाडी फसेका थिए।

प्रहरीका अनुसार पहिरोमा नौवटा मोटरसाइकल,दुईवटा माइक्रोबस, दुईवटा बस र केही जीपहरु फसेका थिए। बेलुकीपख पहिरोमा फसेपछि यात्रुहरु गुहारगुहार भन्दै कराउन थालेका थिए।

प्रहरीका अनुसार त्रिशूलीबाट करिब ३२ किलोमिटर टाढा मदनपुर र आसपासको क्षेत्रमा मंगलबार अपराह्नदेखि रातिसम्म एक सयभन्दा बढी ठाउँमा पहिरो गएको थियो। शृखलाबद्ध पहिरो गएकाले उद्धारमा खटिएका प्रहरीलाई समेत सकस भएको थियो।

ककनी र त्रिशूलीबाट प्रहरी टोली परिचालन गरी अलपत्र यात्रुको उद्धार गरिएको थियो। प्रहरी तीन–चार किलोमिटर हिँडेर उद्धार गर्न गएको थियो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका निमित्त प्रमुख प्रकाश शर्माले अलपत्र परेका यात्रुलाई डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थानमा लगिएको जानकारी दीए। उनका अनुसार पहिरोमा परी १२ जना जति यात्रु घाइते भएका छन्। घाइतेमध्ये केही यात्रुलाई उपचारका लागि काठमाडौं पठायएको छ।