नेपाल र कुवेत आज भिड्दै

भाद्र २४,काठमाडौ-नेपाली किशोर टिमले एएफसी यू-१६ च्याम्पियनसिपको दोस्रो खेलमा मंगलबार कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ। बैंककस्थित मुनाङथोङ स्टेडियममा हुने खेल नेपालका निम्ति निकै महत्त्वपूर्ण छ। किनभने नेपालले प्रभावशाली देखिएको उत्तर कोरियाविरुद्ध समूहको अन्तिम खेल खेल्नेछ। त्यसैले नेपाललाई नकआउट चरण पुग्ने लक्ष्य प्राप्तिका लागि कुवेतविरुद्धको खेल महत्त्वपूर्ण मानिएको छ। पहिलो खेलमा उत्तर कोरियासँग ३-० ले हारेको कुवेतका निम्ति पनि अन्तिम आठ प्रवेशको सम्भावना कायम राख्न हारबाट बच्नु अनिवार्य छ। नेपालले पहिलो खेलमा आइतबार डिफेन्डिङ च्याम्पियन उज्वेकिस्तानविरुद्ध संघर्ष गर्दै १-१ को बराबरी खेलेको थियो। त्यसमा किरण सुनारले अन्तिम क्षणमा गोल गर्दै नेपाललाई अंक दिलाएका थिए।

किरणको त्यो गोल एएफसी यू-१६ -सन् २००६ सम्म यू-१७ का रूपमा सञ्चालित) को फाइनल चरणमा नेपालको १४ वर्षयताकै पहिलो हो। त्यही गोलले नेपाल एएफसी यू-१६ को पछिल्ला दुई खेलमा अपराजित राख्यो। पछिल्लोपल्ट सन् २००६ को अन्तिम खेलमा नेपालले आयोजक सिंगापुरसँग गोलरहित बराबरी खेलेको थियो। छनोटमा दुई पहेंलो कार्ड बेहोरेकाले पहिलो खेलमा प्रतिबन्धित नेपाली टिमका नियमित कप्तान विमल घर्तीमगर कुवेतविरुद्ध मैदानमा र्फकंदैछन्। त्यसले टिमको हौसला बढाउने मुख्य प्रशिक्ष्ाक बालगोपाल महर्जनले बताए। ‘हाम्रो टिम राम्रो छ। कुवेत पनि राम्रै टिम हो,’ उनले भने, ‘कुवेतविरुद्ध फरक रणनीतिसहित खेल्नेछौं। हामीलाई अंक जोड्न अत्यावश्यक छ। त्यसैले पहिलो खेलमा गरेका गल्ती सच्याएर खेल्नेछौं।’ उनले केही खेलाडी परिवर्तन गर्ने पनि बताए।

पूर्ण स्वस्थ नरहेका मिडफिल्डर हेमन्त थापामगरले उज्वेकिस्तानविरुद्ध खासै खेल्न सकेनन् र उनलाई हाफटाइममा परिवर्तन गरिएको थियो। त्यही खेलमा चोट बोकेका डिफेन्डर अनन्त तामाङलाई सोमबार अभ्यासमा सहभागी गराइएन। उनी खेल्ने/नखेल्ने मंगलबार मात्र पक्का हुने प्रशिक्षक महर्जनले बताए। बेल्जियन क्लब एन्डरलेच्तको एकेडेमीमा आबद्ध विमलले भने, ‘युरोपेली फुटबलको अनुभव कुवेतविरुद्ध उपयोग गर्नेछु।’ समूह ‘सी’को अर्को खेल उज्वेकिस्तानविरुद्ध उत्तर कोरियाबीच हुनेछ।