भदौ २४,काठमाडौं-‘तेल चोर’ छुटाउन नेपाल पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघले दिएको दबाबसामु सरकार झुकेको खबर आजको नागरिक दैनिकमा छापिएको छ। भारतबाट ल्याएको इन्धन गन्तव्यमा नपुर्यावई बीच बाटोमै चोर्न लगाएको आरोप झेलिरहेका व्यापारी चोपनारायण श्रेष्ठ छुटाउन व्यवसायीले हडताल घोषणा गरेपछि आयल निगमले उनीहरुलाई वार्तामा बोलाएको हो।महासंघ सल्लाहकार श्रेष्ठविरुद्ध प्रहरीले जारी गरेको पक्राउपुर्जी फिर्तालगायत माग पूरा गर्न व्यवसायीले हडतालको सहारा लिएका हुन्।
उपभोक्ता अधिकारकर्मी भने व्यवसायीको ‘गैरकानुनी माग’मा वार्ता सुरु गरेर सरकार झुकेको बताउँछन्। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ भन्छन्, ‘वार्ता होइन कारबाही हुनुपर्थ्यो।’ महासंघले श्रेष्ठलाई सफाइलगायत १० सुत्रीय माग अघि सारेको छ। मागको १०औं बुँदामा श्रेष्ठविरुद्धको कारबाही रोक्नुपर्ने उल्लेख छ।प्रहरीले श्रेष्ठलाई तेल चोरीमा दोषी ठहराएको छ। महासंघको विरोध कार्यक्रम अत्यावश्यक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने गरी हडताल गर्न नपाइने कानुनी प्रावधानविपरीत छ।