झापा र सिरहामा गरी २ महिलाको हत्या

भदौ १९, काठमाडौँ-झापाको चन्द्रगढीमा एक महिलाको हत्या भएको छ ।  मादकपदार्थ सेवन गरी होहल्ला गरिरहेका तीनजना युवाले ती महिलाको हत्या गरेका हुन् । झापाको चन्द्रगढी–४ घोडामारा भन्ने स्थानमा स्थानीय सुकवती राजवंशीको घरबाहिर मादकपदार्थ सेवन गरेका केही युवाले होहल्ला गरेपछि सम्झाउन जाँदा सोही स्थानका २२ वर्षीय श्यामलाल सतारले घाँटीमा खुकुरी प्रहार गरेका थिए ।

घाइते सुकवतीलाई भद्रपुरको ओमसाई पाथिभरा अस्पतालमा पु¥याउने क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न तीनमध्ये २८ वर्षीय विपुल राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ भने २१ वर्षीय रमेश सतार र श्यामलाल सतार फरार रहेको र तिनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता सिरहाको सीमावर्ती गाविस औरहीमा अज्ञात समूहले आज बिहान धारिलो हतियार प्रहार गरी एक सर्वसाधारणको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार धारिलो हतियार प्रहार गरी औरही–८ का ४० वर्षीया डोमा सदायको हत्या गरिएको हो । अत्यधिक गर्मी भएकाले घरको आँगनमा सुतिरहेको अवस्थामा सदायको हत्या भएको र उनकोे मस्तिष्कमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।