वैद्यलाई समेट्न राजनीतिक सभा

भदौ १८,काठमाडौ-सरकार र राजनीतिक दलबीच मोहन वैद्य  नेतृत्वको माओवादी सहित  संविधानसभा बाहिरका शक्तिहरुलाई समेट्न  राजनीतिक सभाको अवधारणा लागू गर्ने भएका छन् । कार्यतालिकाभित्रै नयाँ संविधान जारी गर्न नेकपा-माओवादीलाई समेत संविधान निर्माण प्रक्रियामा सहभागी गराउनका लागि उसले राखेको राजनीतिक सभाबारे दलहरुले औपचारिक छलफलमा जुटेका हुन् । सरकारमा सहभागी दल, प्रमुख विपक्षी एमाओवादी र नेकपा-माओवादीबीच मंगलबार भएको त्रिपक्षीय छलफलपछि उनीहरुले संविधानसभाबाहिरको शक्तिलाई समावेश गर्ने राजनीतिक खाका खोजी आगामी बैठकमा पेस गर्ने निर्णय गरेका हुन् ।

आजको कान्तिपुर दैनिक लेख्छ बैठकको सुरुमा कांग्रेस र एमालेका नेताहरुले संविधान निर्माणको बिषयमा संविधानसभा बाहिर गई सहमति गर्नु प्रकृयागत ढंगले गलत हुने भन्दै त्यसबारे गृहकार्य हुनुपर्ने बताएका थिए । आफूले राखेको प्रस्ताव अस्वीकार हुने देखेपछि नेकपा-माओवादीका नेताहरु केही आक्रोशित भएका थिए । तर, लगतै संविधानसभाको अधिकार कटौति नहुनेगरी राजनीतिक भेला या सम्मेलनबाट पनि सहमति खोज्न सकिने धारणा राखेपछि छलफल सकरात्मक बनेको थियो ।

‘राजनीतिक सभा गर्ने कुरामा दलहरुबीच बिवाद छैनु एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘त्यसको कार्यविधि के हुने, को सहभागी हुनेबारे गृहकार्य गर्ने कुरा भयो ।’ राजनीतिक सभा गर्नुपर्नेमा एमाओवादीको मुख्य जोड छ । नेकपा-माओवादीसंग सहकार्य गर्ने तयारी गरेको एमाओवादीले पहिले उसंग सहमति  गरी औपचारिक सहमति गर्नुपर्ने औपचारिक निर्णय गरेको थियो ।

बैठकमा माओवादी अध्यक्ष मोहन वैद्यले यसअघि जेठ २६ गते भएको पहिलो बैठकमा ३ ठूला दलबीच राजनीतिक सभाबारे धारणा बनाउने सहमती भएपनि उल्लंघन भएकोमा असन्तोष राखेका थिए । ‘कांग्रेस, एमाले, एमाओवादीले तयारी गरेर आएको देखिएनु, बैठकपछि वैद्यले कान्तिपुरसँग भने ‘उहाँहरु कसरी प्रस्तुत हुनुहुन्छ । त्यसपछि मात्र संविधान बनाउने प्रक्रियामा सहभागी हुनेरनहुने बारे प्रष्ट हुन्छ ।’