ओली, दाहाल र सिटौलाबीच भेटवार्ता, संयन्त्र गठनमा सहमति बिफल

भदौ १३, काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाबीच आज ओली निवास बालकोटमा भेटवार्ता भएको छ । उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका लागि ठूला तीन दलका शीर्ष नेताबीच भएको छलफलमा संयन्त्र गठनमा सहमति बन्न नसकेको बालकोटस्थित ओली निवास स्रोतले जानकारी दिएको छ ।

बैठकमा संयन्त्र गठनबारे छलफल भए पनि कुनै सहमति हुन नसकेको तर यस विषयमा काँग्रेस, एमाले लचक भने भएको बताइएको छ । हिजो  साँझ एमाओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटवार्ताबाट आज तीन दलको शीर्षस्थ नेताको बैठक बस्ने सहमतिअनुसार ओली निवासमा तीन दलका नेताको छलफल भएको बताइएको छ ।

आधा घण्टाभन्दा बढी भएको छलफलमा संयन्त्र गठनबारे सहमति हुन नसकेको तर ओली उपचार गराई भारतबाट फर्किएपछि यस विषयमा पुनः छलफल गर्ने गरी बिना निष्कर्ष आजको बैठक टुङ्गिएको बताइएको छ ।  आज भएको छलफलमा संयन्त्रको मिति, नेतृत्व, यसमा कुनकुन दललाई सहभागी गराउनेलगायत विषयमा समेत छलफल भएको स्रोतले बताएको छ ।