२६ मध्ये १८ सभासद मनोनित

भदौ १३, काठमाडौँ – मन्त्रिपरिषद्को आजको बेठकले २६ सभासदमध्ये १८ जना मनोनित गरेको छ । मन्त्रिपरिषद्ले सत्तारुढ काङ्ग्रेसको तर्फबाट ९, एमालेको तर्फबाट ८ र र विपक्षी राप्रपा नेपालको तर्फबाट १ गरी १८ जना सभासद मनोनित गरेको सरकारका प्रवक्ता एवंम संचारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

रिजालका अनुसार मधेसबादी दलहरुले मनोनित हुने सभासदको बारेमा संसदमा कुरा उठाएको भन्दै एकीकृत नेकपा माओवादीले भने मनोनित हुने सभासदको नाम बुझाएको छैन ।

आज मनोनित हुने सभासदमा काङ्ग्रेसका तर्फबाट राधेश्याम अधिकारी, शिबबहादुर खड्का, पुष्कर आचार्य, रेशम बानिया, शकलदेव सुतिहार, रुक्मिणी कोइराला, सूर्यदेव दास, उमेश श्रेष्ठ र अनिलकुमार रुगटा रहेका छन् ।

त्यसैगरी एमालेको तर्फबाट उदय नेपाली, अग्नि खरेल, गंगा डाँगी, मीरा धुजू, पेम्बा बोटे, नरेश खरेल, राजन भट्टराई र पर्तमान धिमाल सभासदमा मनोनित भएका छन् । राप्रपा नेपालको तर्फबाट भने अखिल नेपाल फुटबल संघका अध्यक्ष गणेश थापा मनोनित भएका छन् ।