भावी संविधानका प्रस्तावना र नामकरणका विषयमा छलफल

भदौ १३, काठमाडौ-संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिको शुक्रबारको  बैठकमा भावी संविधानका प्रस्तावना र नामकरणका विषयमा छलफल भएको छ । संविधानका संशोधनीय तथा असंशोधनीय विषयमा पनि बैठकमा छलफल भएको समितिका सचिव मुकुन्द शर्माले जानकारी दिए ।      दलहरूबीच हिजो  सहमति भएको भनिएको भावी संविधानको नाम ‘नेपालको संविधान’ का विषयमा पहिचानमा आधारित संयुक्त मञ्चले बैठकमा असहमति राखेको शर्माले बताए । व्यवस्थापिका–संसद्मा साना दलहरूले सङ्घीयता, शासकीय स्वरूप र राज्यको पुनःसंरचनाका विषयमा साझा धारणा बनाउन सो मञ्च गठन गरेका थिए । उनले ठूला दलहरूबीच यस विषयमा सहमति भएको होला तर संवैधानिक राजनीतिक संवाद एवम् सहमति समितिमा यस्तो सहमति भएको छैन भन्दै मञ्चले भावी संविधानको नाम सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान हुनुपर्ने मञ्चको माग आजको बैठकमा राखेको बताए ।े प्रस्तावनामा समेटिने ती विषयको संशोधन गर्न संसद्मा दुई तिहाई मत कायम गरी त्यसलाई जनमत सङ्ग्रहमा लैजानुपर्ने सहमति भएको छ ।