हरितालिका भव्यताका साथ सम्पन्न

भदौ १२, काठमाडौँ  – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज वैदिक सनातन हिन्दू नारीले श्रद्धाभक्तिपूर्वक व्रत बसी , पूजाआजा गरी मनाएका छन्  ।  आजको दिनमा विधिपूर्वक व्रत गरी महादेवको पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेका छ । आज व्रत गरेका महिलाले मन्दिरमा पूजा गर्नाका साथै घर घरमा शास्त्रीय विधिअनुसार उमा महेश्वरको पूजा लगाउने गर्छन् ।

रातभर दियो बाली भोलिपल्ट बिहान गोदान र पूर्णपात्र गरी   तीज पर्वलाई समापन गर्ने धार्मिक विधि रहेको छ । तीज पर्वको उपलक्ष्यमा पशुपतिमा बिहान सहजरुपमा दर्शन गर्ने व्यवस्था मिले पनि अपराह्नको पशुपतिको नित्य पूजापछि भने बढी समय कुर्नुपरेको भक्तजनले गुनासो गरेका छन् । त्यस्तै पशुपतिनाथ मन्दिरमा लागेको मेला २५ वर्षमा नै सबैभन्दा व्यवस्थित भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

आज करिब ३ साडे ३ लाख महिलाले दर्शन गरेको विकाश कोषको अनुमान  छ । अहिलेसम्मको व्यवस्थापनमा यस वर्ष राम्रो भएकाले यसलाई शिक्षाका रुपमा लिई यस वर्ष भक्तजनले औँल्याएका कमीकमजोरीलाई अर्को वर्षदेखि सुधार्ने प्रतिबद्धता कोषका सदस्य सचिव डा गोविन्द टण्डनको भनाइ  छ ।