हिन्दु नारीहरुको पर्व तिज नाचगानका साथ मनाइदै, शिवालयहरुमा घुँइचो

भदौ १२, काठमाडौ – नेपाली हिन्दुनारीको महान पर्ब हरितालिका तिज आज हर्षोउल्लासका साथ मनाइदैछ । तिजको अबसरमा आज बिहानैदेखि राजधानीको पशुपतीनाथ मन्दीर  लगाएत देशभरका शिवालयमा दर्शनार्थीहरुको घुईचो लागेको छ । निराहार ब्रत बसेर नाचगान गर्दै रमाइलोका साथ महिलाहरुले तिज पर्व मनाइरहेका छन् । काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ ।

पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताईएकाृे छ । त्यस्तै पूजाआजा सजिलो पार्न अहिले तिन वटा ढोका खुल्ला राखिएको पशुपति क्षेत्र बिकास कोषले जनाएके छ । पुशपतिमा यसपटक साढे ३ लाख महिलाले दर्शन गर्ने अपेक्षा गरिएको छ । एक हजार रुपैँया तिरेर दर्शन गर्नेहरुका लागि छुट्टै ढोकाको व्यवस्था समेत गरिएको छ । हिन्दु नारीको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ ।

परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दु नारी निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन् । हरितालिका व्रतका प्रभावले हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफलभएको हुनाले तीजको व्रतको महत्व बढेको हो । हिजोआज कतैकतै दर खाने र उपहार दिने प्रथालाई पनि सामाजिक प्रतिष्ठाका रूपमा लिएर तीज भड्किलो बन्दै गएको छ । तीजको अवसरमा सरकारले महिलाका लागि आज सरकारी बिदा समेत दिएको छ ।

यसैबिच केही वर्षयता तीज आउनु अघि नै भड्किलोरूपमा दर खाने र उपहार दिने क्रम यसपालि केही कम भएको छ । भड्किलो तिज गर्ने लाई अख्तियारले कार्बाही गर्ने भनेपछि  यसपालीको तिज कम भड्किलो भएको हो ।  हरितालिका तीज पर्वमा व्यवस्थित ढङ्गले दर्शनार्थीलाई मन्दिर प्रवेश गराउन विशेष सर्तकता अपनाइएको पशुपति विकाश कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिए । मन्दिरको भित्रि भागमा महिला सुरक्षाकर्मी र स्वयम्सेवक पनि महिला नै खटाइएको  छ । मन्दिर प्राङ्गणमा ११३ महिला प्रहरी र २०० महिला स्वयम्सेवक खटाउने तयारी भएको  छ  ।  तिज पर्वकै लागि दुई हजार २४६ सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटाइन लागिएकाले पनि दर्शनार्थीले व्यवस्थित ढङ्गले दर्शन गर्न पाउने तीज व्यवस्थापन समितिका संयोजक तारानाथ सुवेदीले बताए ।

यसैबिच हरितालीका तिजको विशेष अवसरमा राष्पति रामवरण यादव, उपराष्ट्रपति परमान्द झा, प्रधानमन्त्री शुशिल कोइराला लगायतले नेपाली महिला दिदीबहिनीहरूप्रति शुभकामना व्यक्त गरेका छन् ।  शुभकामना सन्देशमा उनीहरुले हरितालिका तीजको पुनित अवसरमा देशभित्र र विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीहरूको सुख, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।