राष्ट्र बैंकको प्रस्टीकरणले हौसियो सेयर बजार

१२ भदौ, काठमाडौं –पछिल्ला २ दिन सबैलाई चकित पार्दै ओरालो लागेको सेयर बजारले बुधबार लय समातेको छ । सेयर लगानीसम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्थाले असमञ्जसमा परेको बजार २ दिनमा ६४ अंकले खस्किएको थियो । राष्ट्र बैंकको प्रस्तीकरणसँगै हौसिएको बजारले बुधबार ३८.५७ अंकले सुधार देखेको छ ।

बैंक वित्तीय संस्थाले व्यापारिक हिसाबले प्राथमिक पुँजीको १ प्रतिशतमात्र सेयर किन्न पाउने व्यवस्थालाई राष्ट्र बैंकले मंगलबार व्याख्या गरेपछि बजार परिसूचक उच्च अंकले बढेको हो ।

राष्ट्र बैंकको अघिल्लो निर्देशनले बढाएको अन्योल चिरिएपछि लगानीकर्ता उत्साहित भएर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सोमबार ३८ र मंगलबार २६ अंकले घटेको थियो । आजको कारोबार दैनिकमा खबर छ ।