विकासका लागि उदार अर्थनीति: अर्थमन्त्री महत

भदौ ११,काठमाडौँ – अर्थमन्त्री डा रामशरण महतले मुलकको आर्थिक विकासका लागि उदार अर्थनीतिको विकल्प नभएकोले उक्त नीतिलाई अक्षरसः कार्यान्वयन गर्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १५औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले देशको आर्थिक विकास नै आफ्नो मुख्य ध्येय र सङ्कल्प भएको बताएका हुन् ।

राष्ट्रको आर्थिक उन्नयनका निम्ति ऐन कानुन कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृद्धि र संस्थागत सुदृढीकरणलाई आफूले उच्च प्राथमिकता दिएको बताउँदै महतले राजनीतिक परिवर्तनसँगै प्रशासनयन्त्रमा हुने हेरफेरले राष्ट्रलाई कमजोर बनाने स्पष्ट पारे ।

विकास निर्माणका काममा व्यवधानकारी नीति अवलम्बन गर्ने राजनीतिक दल र अन्य तत्वले देशलाई विकासको बाटोमा अघि बढाउन नदिएको गुनासो गर्दै  उहाँले ऊर्जा क्षेत्रमा केही गर्न सरकारीस्तरमा थालिएका प्रयासलाई रोक्ने प्रयास भएको आरोप लगाए ।

आर्थिक समुन्नतिको बाटो रोक्नेविरुद्ध लाग्न सञ्चारकर्मी पनि उत्तिकै जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री महतले भारतसँग विद्युत् व्यापार सम्झौता गर्नुको विकल्प नभएको बताए ।