सहमतिहरु लागु गर्न एमाओवादीसहित प्रतिपक्षी दलको चेतावनी

भदौ ११,काठमाडौं–एमाओवादीसहितका प्रतिपक्षी दलहरुे उच्चस्तरीय राजनीतिक संयन्त्र गठनसहितका पूर्वसहमति कार्यान्वय गर्न सत्तापक्षलाई अल्टिमेटम दिएको छ । एमाओवादी अध्यक्ष प्रचण्डले मंगलबार सदनमा शान्ति प्रक्रियाका बाँकी काम पुरा गरी नयाँ संविधान निर्माणको वातावरण बनाउनुपर्नेमा सत्तापक्ष उल्टो बाटोमा लागेको आरोप लगाउँदै आगामी बैठकअघि नै सत्तापक्षले पूर्वसहमति पालना नगरे सदन चल्न नदिने चेतावनी दिएका छन् ।
संसद्को अर्को बैठक शुक्रबार डाकिएको छ ।संविधानसभाको कार्यतालिकाअनुसार अन्तरवस्तुमा सहमति जुटाउनुपर्ने अन्तिम समयसीमाको नजिक पुगेपछि सत्तापक्षले राजनीतिक संयन्त्र गठनको आवश्यकता नभएको ठहर गर्नुलाई प्रचण्डले देश दुर्घटनामा पर्ने संकेतका रुपमा अथ्र्याएका छन् ।
‘राजनीतिक संयन्त्र बनाउँदा संविधानसभाको बैधानिकलाई कमजोर पार्छ भन्ने दिव्यज्ञान कसरी प्राप्त भयो ?’ उनले भने,‘चारबुँदे सम्झौतामा हस्ताक्षर गर्दाचाहिँ थाहा थिएन ?’सहमति जुटाउने समयसीमाभित्रै संविधानका अन्तरबस्तुमा रहेका विवाद समाधानका लागि आफुले पटक पटक गम्भीर छलफल गर्ने प्रस्ताव राख्दा सत्तापक्षले आलटाल गरेको उनको आरोप छ ।
कार्यतालिका कार्यान्वयनको संवेदनशील समयमा सत्तापक्षका नेताहरुमध्ये कोही मानसरोवर र कोही दिल्ली गएको भन्दै उनले रोष प्रकट गरे । उनले तिव्वत भ्रमणमा रहेका एमाले नेता माधबकुमार नेपाल र दिल्ली जाने तयारीमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम भने उल्लेख गरेनन्,आजको कान्तिपुर दैनिकमा खबर छ ।