चरीको पैसा कसले चप्कायो ?

भदौं ११ , काठमाडौं –आपराधिक सञ्जालका एक नाइके निदेश अधिकारी चरी प्रहरीसँगको फेक मुठभेडमा मारिएपछि उनका फसेका पैसाहरुको खोजी शुरु भएको छ । आफूलाई चरीकी प्रेमिका दावी गर्ने खुश्बु ओलीदेखि धादिङे विश्वनाथ कँडेलसम्म पैसा खोजीको लहरोमा छन् । अनियमित कर्जा प्रवाहका कारण डुबेर उक्सिँदै रहेको गोर्खा विकास बैंकले धादिङको त्रिपुरेश्पर गाविस, खहरेस्थित आँखुखोला जलविद्युत परियोजनामा लगानी गरेको थियो ।

सल्यानटार नजिकै रहेको सात मेगावाट क्षमताको उक्त परियोजननाबाट विद्युत उत्पादन शुरु भएको एक वर्ष भयो । त्यहाँ दरबारमार्गस्थित साइनो होटलका मालिक काजी शेर्पाको पनि संलग्नता छ । कूल एक अर्ब लगानीको परियोजना हो त्यो । जतिबेला अनियमित कर्जा प्रवाहका कारण गोर्खाका सञ्चालक डिबी बम्जन चरम संकटमा थिए, त्यसबेला चरीले उद्धार गरेका रहेछन् । उक्त बैंकबाट एकचोटी २० करोड कर्जा स्वीकृत हुँदा त्यसका एकजना सञ्चालक विश्वनाथ कँडेलप्रति अविश्वास भएर रोकिएको थियो ।
विश्वनाथ कुनै बेला मलेखुमा माटोको हाँडी र ग्रागो बेच्ने पसल चलाउँथे । अहिले बबरमहलमा विशाल महलसहित २१ करोडका मालिक छन् । विष्णु पौडेल जलस्रोत मन्त्री हुँदा विद्युत प्राधिकरणको प्रबन्धक निर्दैशक हुने दौडमा थिए । चरी ले यिनैमार्फत त्यो परियोजनामा ६ करोड चलाउन दिएका थिए । त्यसबापत विश्वनाथले चरीलाई पकेटखर्च महिनामा डेढ लाख दिन्थे । कँडेल छलीको सबै धन्दामा माहिर मानिन्छन् । पैसाको कुरा न पर्यो , चरी मारिएपछि विश्वनाथ अहिले त्यो पैसा पचाउन जडतोडसँग लागेका छन् । तर, आफूलाई प्रेमिका दाबी गर्ने खुश्वु भने त्यो लगायत चरी का कुनै पनि लगानी अरुको हातमा पर्न नदिन उत्तिकै सक्रिय छन् ।