वि.पी.को ‘तीन घुम्ती’मा चलचित्र बन्ने

भदौ ११, काठमाडौँ – विश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृती ‘तीन घुम्ती’मा आधारित रहेर चलचित्र बन्ने भएको छ । पछिल्लो समय साहित्यिक कृतीहरुमा आधारित रहेर सिनेमा बन्ने क्रम बढ्दै जाँदा ‘तीन घुम्ती’ पनि अब पर्दामा प्रस्तुत हुने भएको हो ।

चलचित्रलाई बाबुराम ढकालले निर्देशन गर्दैछन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति संरक्षक रहेको ‘बीपी कोइराला स्मृती प्रतिष्ठान’ सँग ‘तीन घुम्ती’मा आधारित रहेर चलचित्र निर्माणको लागी अनुमती लिइसकिएको बताईएको छ । सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद रहने यो चलचित्रमा अभिनय गर्ने कलाकारहरुको टुंगो लाग्न भने बाँकी छ ।

बसन्त सापकोटाको संगीत तथा डा. कृष्णहरी बरालको गीत रहने यो चलचित्रको गीत तथा संगीतको काम अघी बढिसकेको निर्माण युनिटले बताएको छ । तिहारपछि छायांकन हुन लागेको यो चलचित्र ‘कर्मा प्रोडक्शन’को ब्यानरमा तयार हुने छ ।