सहमतिमा विवादित विषय टुङ्गो लगाउन समितिको सुझाव

 भदौ ९, काठमाडौँ – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आज आगामी संविधानमा समावेश गर्नुपर्ने अन्तर्वस्तुका विषयमा लेखक तथा स्तम्भकारसँग छलफल गरेको छ । समितिको कार्यालय सिंहदरबारमा भएको छलफलमा लेखक तथा स्तम्भकारले तोकिएको समयभित्रै संविधान लेखन प्रक्रियालाई पूर्णता दिनुपर्ने र सबैले स्विकार्ने संविधान निर्माणमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

विपरीत सैद्धान्तिक धरातलमा उभिएका दललाई मिलाएर संविधान लेख्ने विषय जटिल भए पनि सहमति र सम्झौतालाई विशेष ध्यान दिन र समयभित्रै सबै प्रक्रिया पूरा गर्न सुझाव दिइएको स्तम्भकार राजेन्द्र महर्जनले राससलाई जानकारी दिए ।  अघिल्लो संविधानसभाले संविधान नबनाई विघटन भएको अवस्थामा दलप्रति जनताको विश्वास गुमेको अवस्थामा फेरि पनि ढिलाइ गर्ने हो भने झन् जटिल स्थिति पैदा हुने भएकाले समय छँदै विचार पुयाउन आग्रह गरिएको थियो ।

दलबीचमा विवाद रहेको शासकीय स्वरुप, राज्य पुनःसंरचना, न्याय प्रणालीलगायत विषयमा आधारभूत रुपमै विवाद छ । ती विवाद हल गर्न पनि निरन्तर संवाद र वार्ताको जरुरी रहेकामा लेखक तथा स्तम्भकारले सुझाव दिएका थिए ।     सो अवसरमा समितिका सभापति डा बाबुराम भट्टराईले दलबीचमा निरन्तर संवाद जारी रहेका कारण तोकिएको समयभित्रै संविधान जारी गर्न सकिने बताएका थिए ।

छलफलमा स्तम्भकार तथा लेखक महर्जन, नरेन्द्रजङ्ग पिटर, झलक सुवेदी, जुगल भुर्तेल, अमित ढकाल, पुरुषोत्तम दाहाल, ध्रुवहरि अधिकारी, श्रीकृष्णअनिरुद्ध गौतम, अरुण बराल, बबिता बस्नेतलगायतको सहभागिता थियो ।