३६ हजार मिल्दा बन्यो झन्डा

 ८ भदौ, काठमाडौँ –राजधानीको टुँडिखेलमा शनिबार ३६ हजार मानिस भेला भएर विशाल ‘मानव झन्डा’ बनाएका छन् । टुँडिखेलस्थित सैनिक मञ्चअघि भेला भएका ३५ हजार नौ सय सात मानिसले टाउकोमा रातो, नीलो र सेतो रङको प्लेकार्डसहित उभिएर राष्ट्रिय झन्डाको रूप दिएका थिए ।
यति धेरै मानिसको सहभागितामा ‘मानव झन्डा’ निर्माण विश्वरेकर्ड भएको आयोजक ‘शान्ति र समृद्धिका लागि मानव मूल्य’ले दाबी गरेको छ ।

यसअघि १५ फेब्रुअरी सन् २०१४ मा पाकिस्तानमा २८ हजार नौ सय ५७ मानिसको उपस्थितिमा बनाइएको मानव झन्डाले विश्वरेकर्ड कायम गरेको थियो ।

संस्थाका अध्यक्ष भावेश खनालले सञ्चारकर्मीसँग भने, ‘३५ हजार नेपालीलाई एकै स्थानमा जम्मा गरेर राष्ट्रिय झन्डामुनि एकत्रित गर्नु चुनौतीपूर्ण काम थियो । त्यो सफल भएको छ ।’

मानव झन्डाको दृश्य हेलिकोप्टरमार्फत कैद गरिएको थियो । उक्त भिडियोलाई संस्थाले ‘गिनिज बुक अफ दी वल्र्ड रेकर्ड’मा पठाउनेछ । संस्थाले यसअघिको विश्वरेकर्ड तोडिए–नतोडिएकोबारे निर्णय आठ साताभित्र दिनेछ ।

संस्थाले चार महिनादेखि मानव झन्डा निर्माणको अभ्यास गर्दै आएको थियो । शनिबार एक सय २८ मिटर चौडाइ र एक ६८ मिटर लम्बाइको झन्डाको आकृति बनाइएको हो । हरेक सहभागीले १८ इन्च लम्बाइ र २५ इन्च चौडाइको प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा सहभागी गराउन संस्थाले विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीलाई आह्वान गरेको थियो । सार्वजनिक रूपमा गरिएको आह्वानबाट सहभागिता सुनिश्चित नभएपछि संस्थाले सामाजिक सञ्जाल फेसबुकमार्फत नै आवेदन माग गरेको थियो ।

संस्थाले सहभागी प्रत्येकबाट सय रुपैयाँ उठाएको थियो । कार्यक्रम खर्चिलो भएकाले सहभागीबाट सहयोग रकम उठाएको संस्थाको भनाइ छ । कार्यक्रममा सहभागीलाई शनिबार बिहान ६ बजेबाटै टुँडिखेल प्रवेश गरिसक्नुपर्ने निर्देशनबमोजिम सबै तोकिएकै समयमा सहभागी भएका थिए ।

 

राष्ट्रिय झन्डाको आकृति निर्माण गर्ने उद्घाटन गरिएको कार्यक्रममा समाजसेवी अनुराधा कोइराला, राष्ट्रिय गानका रचनाकार व्याकुल माइला र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहको साक्षी हस्ताक्षर छ ।

 

संकलित हस्ताक्षर पनि रेकर्डका लागि पठाइने आयोजक संस्थाका अध्यक्ष खनालले जानकारी दिए । उनले भने, ‘संकलित हस्ताक्षर रेकर्डका लागि पठाइनेछ । यो राष्ट्रिय झन्डाअंकित मानवीय नक्सा हो । नक्सा बनाउन सफल भएका छौँ । विश्वरेकर्ड कायम गर्न पनि सफल हुनेछौँ ।’ आजको नयाँ पत्रिका दैनिक मा खबर छ ।

 

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले ‘मानव झन्डा’ निर्माणले नेपालीबीचको एकता र राष्ट्रियतालाई दर्शाउने बताए । उनले भने, ‘टुट्दै गएको राष्ट्रियता जोड्ने काम कार्यक्रमले गरेको छ । यसले राष्ट्रियता र एकतालाई बलियो बनाएको छ ।’

 

‘मानव झन्डा’को रेकर्डमा प्रतिस्पर्धा

पाकिस्तानले १५ फेब्रुअरी सन् २०१४ मा २८ हजार नौ सय ५७ मानिसको उपस्थितिमा मानव झन्डा निर्माण गरेर विश्वरेकर्ड कायम गरेको थियो । तर, त्यसअघि १६ डिसेम्बर २०१३ मा बंगलादेशले २७ हजार एक सय १७ जनाको सहभागितामा मानव झन्डा तयार पारेर रेकर्ड कायम गरेको थियो ।

 

यस्तै, फिलिपिन्समा १९ हजार पाँच सयजनाको सहभागितामा र त्यसअघि ताइवानमा सात हजार मानिसको सहभागितामा मानव झन्डा बनाएर विश्वरेकर्ड कायम गरिएको थियो ।

– See more at: http://nepaliheadlines.com/2014-08-24-01-14-13.html#sthash.hP60bata.dpuf